• ८ चैत २०८२, आइतबार

कपिलवस्तुमा निषेधाज्ञा जारी

blog

जिल्ला प्रशासन कार्यालय अगाडि निषेधाज्ञा जारी भएपछिको दृश्य । तस्बिर : नारद कोहार ।

नारद कोहार

तौलिहवा (कपिलवस्तु ), चैत्र ८ गते । कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

उहाँले कपिलवस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार निषेधाज्ञा लागु गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, भनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।

प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही समेत गरिने बताउनुभयो ।

जिल्लाको महाराजगन्ज बर्गदामा भएको घटनामा कुल २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक सहित ११, सशस्त्र प्रहरीका छ जना प्रदर्शनकारीतर्फ छ जना घाइते भएका थिए।

सोही क्रममा चार जनालाई गोली लागेको थियो । घाइते मध्ये चारको भैरहवा, एकको भरतपुर र एक जनाको बहादुरगन्ज अस्पतालमा उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा नौ जनालाई प्रहरीले नियन्त्रण लिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।