काठमाडौँ, चैत ८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ ।
एन्फाले आइतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाउन स्वीकृति नदिएका कारण खेल रद्ध गर्नुपरेको जनाएको छ ।
एन्फाले राखेपसँग गत फागुन १० गते मैदान उपलब्ध गराउन र यही चैत ३ गते रङ्गशालाको फर्डलाइड, स्कोर बोर्ड र अन्य पूर्वाधार उपलब्ध गराई दिन पत्राचार गरेको थियो । नेपालले हङकङविरुद्धको खेललाई एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि तयारीको रूपमा लिएको थियो ।
तर पछिल्लो समय एन्फाको निर्वाचनलाई लिएर राखेप र एन्फाबिच विवाद चुलिएको छ । एन्फाले यही चैत १३ गते झापामा केन्द्रीय निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि उच्च अदालत र राखेपले अनुमति दिएको छैन ।
राखेपले बिहीबार मात्र एन्फालाई निर्वाचन रोक्न पुन: निर्देशन दिएको थियो । राखेपले पत्रमार्फत एन्फालाई निर्वाचनका सवै प्रक्रिया रोकेर तीन दिनभित्र लिखित जानकारी दिन निर्देशनसमेत दिएको थियो ।
एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायत पदाधिकारी भने ‘अर्ली इलेक्सन’ को नाममा जिल्ला, क्लब र प्रदेशको तहगत निर्वाचन नगरी पूरानै प्रतिनिधिलाई सामेल गराएर निर्वाचन गर्ने तयारीमा छ ।
नेम्वाङको गृह जिल्ला झापामा गरिन लागिएको निर्वाचनलाई विश्व फुटबल महासङ्घ (फिफ) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको भन्दै निर्वाचन नगरिए प्रतिबन्ध लाग्नेसमेत नेम्वाङ पक्षले जनाउँदै आएको छ ।
यसअघि एन्फाले फागुन २८ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । त्यतिबेला तय भएको एन्फा निर्वाचन रोक्न निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन हुनसक्ने देखिएको भन्दै निर्देशन दिएपछि रोकिएको थियो ।
यसपटक नेम्वाङलगायत पदाधिकारी जसरी पनि निर्वाचन गर्ने पक्षमा उभिएका छन् । एन्फामा अधिकांश क्लबहरू, जिल्ला र प्रदेशका पदाधिकारीले भने तहगत निर्वाचनको माग राख्दै विरोधका कार्यक्रम गरिरहेका छन् ।