चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ८ गते । ताप्लेजुङमा आयोजना गर्न लागिएको बज्रगुरु मन्त्र जप पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । विश्व शान्तिको कामना गर्दै तथा मानव एकताका लागि यही चैत १२ देखि १४ गतेसम्म सञ्चालन गर्न लागिएको सातौं संस्करणको धार्मिक पूजा बज्रगुरु मन्त्र जपको तयारी अन्तिम चरणमा पुगेको हो ।
ताप्लेजुङ बज्रगुरु मन्त्र जप पूजा मूल आयोजक समितिले आइतबार सदरमुकाम फुङ्लिङमा पूजाको तयारीबारे जानकारी गराएको हो । मूल आयोजक समितिका सदस्य–सचिव पासाङ रिता शेर्पाले मन्त्र जप पूजाको तयारी हाल तीब्र रूपमा भइरहेको र करिव अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
बौद्ध धर्म संस्कारमा आधारित मन्त्र जप पूजा ताप्लेजुङमा निरन्तर रुपमा गरिँदै आएको छ । यसपटक प्रमुख लामा १३ औं अवतारी कुन्दोलिङ ताक्छाक रिन्पोछेको उपस्थितिमा बृहत धार्मिक पूजा बज्र गुरु मन्त्र जप गर्न लागिएको सदस्य–सचिव शेर्पाले बताउनुभयो । उहाँका अनुसार मन्त्र जप पूजामा प्रमुख लामा रिन्पोछेसहित अन्य लामाहरुले प्रवचन गर्नुहुने छ ।
तीन दिने मन्त्र जप पूजामा विगतका वर्ष झैं यसपटक पनि हजारौं भक्तजनको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । पूजामा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुमलगायत जिल्लाका भक्तजनको सहभागिता रहने छ । यस्तै भारतको सिक्किम र दार्जिलिङ समेतबाट भक्तजनहरु पूजामा आउने आयोजकले जनाएको छ ।
यता खर्चका दृष्टिले निकै खर्चालु मानिने पूजालाई निरन्तरता दिन र सफल बनाउनमा आयोजक समितिकै सक्रिय र मुख्य भूमिका रहँदै आएको बताइएको छ । मन्त्र जपले मन शुद्ध भई सबै प्रकारका पुन्य लाभ हुने र बिघ्नबाधा समाप्त भई सुख शान्ति प्राप्त हुनुका साथै मनोकामना पूरा हुने विश्वास गर्ने गरिएको सदस्य–सचिव शेर्पाको भनाइ छ ।
आयोजकका अनुसार मन्त्र जप पूजामा बौद्धबाहेक हिन्दू, किराँत लगायतका धर्ममा आस्था राख्ने भक्तजनसमेत सहभागी हुने गर्दछन् । पहिलो पटक वि. सं. २०७३ सालबाट सुरु भएको बज्रगुरु मन्त्र जप पूजा कार्यक्रमलाई हालसम्म निरन्तरता दिँदै आएको छ । मन्त्र जप पूजा विगतदेखि नै सदरमुकाम फुङ्लिङ बजार नजिक सुकेटारमा आयोजना गर्ने गरिएको छ ।