पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत ८ गते । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्र र भगवान् गौतम बुद्धको पवित्र अस्थि धातु निहित रामग्राम स्तूप यतिबेला उचित संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ। पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूप र तत्कालीन कोलीय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोल नगर) लगायतका महत्त्वपूर्ण पुरातात्विक क्षेत्रहरू राज्यको उपेक्षाका कारण ओझेलमा परेका छन्।
विगत तीन दशकदेखि यी क्षेत्रहरूमा पटक–पटक उत्खनन र पुनःपुरिने कार्य हुँदै आएको छ। तर, उत्खनन गरिएका पुरातात्विक संरचनालाई सुरक्षित गरी सर्वसाधारण र पर्यटकको अवलोकनका लागि खुल्ला राख्ने ठोस व्यवस्थापन हुन सकेको छैन। जसका कारण यहाँ आउने पर्यटकले इतिहासको वास्तविक अनुभूति पाउन सकिरहेका छैनन्।
यस विषयमा चासो व्यक्त गर्दै नागरिक समाजका पूर्व अध्यक्ष राधेश्याम सिंह सैथवारले स्थानीय सरकार र लुम्बिनी विकास कोषको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ, “भगवान् गौतम बुद्धको पवित्र अस्थि धातु रहेको रामग्राम स्तूप (७ देउरवा) र माता महामायाको जन्मथलो मानिने पण्डितपुर बौद्ध धर्मावलम्बीका लागि अत्यन्त पवित्र स्थल हुन्। तर, नगरपालिकाले आफ्नो नाम नै यी क्षेत्रको आधारमा राख्दा पनि हालसम्म एउटा सूचना बोर्ड समेत स्थापना गरेको छैन।”
सैथवारले थप भन्नुभयो, “नेपाल सरकारले रामग्राम स्तूपको विकास जिम्मेवारी लुम्बिनी विकास कोषलाई दिएको छ। तर कोषले लुम्बिनीको प्रतिद्वन्द्वी ठानेर यहाँको विकासमा चासो नदेखाएको आभास हुन्छ। जबसम्म उत्खनन भएका स्थललाई सुरक्षित गरी अवलोकनका लागि खुला गरिँदैन र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुँदैन, तबसम्म यस क्षेत्रको विकास सम्भव छैन।”
स्थानीय बासिन्दाहरूको अनुसार, रामग्राम र पण्डितपुरको ऐतिहासिक महत्त्वलाई बुझेर एकीकृत गुरुयोजनाअन्तर्गत काम गर्नु आवश्यक छ। लुम्बिनी आउने पर्यटकलाई रामग्रामसम्म ल्याउने वातावरण निर्माण गर्न सके यस क्षेत्रको आर्थिक र पर्यटकीय विकासमा ठुलो टेवा पुग्ने देखिन्छ।
यस विषयमा प्रतिक्रिया दिँदै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले स्वीकार गर्नुभयो कि यी क्षेत्रहरू लुम्बिनी विकास कोषको मातहतमा रहेकाले नगरपालिकाले धेरै काम गर्न नसकेको हो। उहाँले भन्नुभयो, “आगामी दिनमा यी स्थलहरूको प्रचारप्रसार र प्रवद्र्धनमा स्थानीय सरकार सक्रियताका साथ लाग्नेछ। हामी विकास कोषसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।”
स्थानीय बासिन्दा र विज्ञहरूले भनेको छ कि नगरपालिकाले कम्तीमा मुख्य सडक र सिमानामा जानकारीमूलक बोर्डहरू राख्ने, बाटो–घाटोको स्तरोन्नति गर्ने, र रामग्राम–पण्डितपुर जोड्ने ‘बुद्धिस्ट सर्किट’ निर्माण नगरेसम्म अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सकिँदैन।