• ८ चैत २०८२, आइतबार

मिथिलाञ्चलमा चैती छठ पर्व सुरु

blog

फाइल तस्बिर

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ८ गते ।
मिथिलाञ्चलमा आइतबारदेखि चैते छठ पर्व सुरु भएको छ । विभिन्न विधि गरी चार दिनसम्म मनाइने यस पर्वको चैते छठ आइतबारदेखि सुरुवात भएको हो ।

पहिलो दिन आइतबार व्रतीहरूले नहाय खाय अर्थात् नुहाएर खाने जीउ चोख्याउने काम गर्नेछन् । दोस्रो दिन सोमबार व्रतीहरूले दिनभरि निराहार उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन चोखो खानेकुरा खाने चलन रहि आएको छ ।

तेस्रो दिन मङ्गलबार षष्ठी तिथिमा व्रतीहरूले छठ घाटमा पुगेर अस्ताउदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षत फुल हालेर अर्घ दिन्छन् भने बुधबार बिहानै छठघाटमा पुगी उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्वको समापन हुने छ ।

हिन्दु धर्मावलम्वीहरूले मनाउने पर्वहरु मध्ये सबैभन्दा कठोर मानिएको छठ पर्व मधेश प्रदेश, कोशी प्रदेशसहित मिथिला संस्कृति मान्ने सबै ठाउँमा मनाइँदै आएको छ ।

आराध्यदेव सूर्यदेवको उपासना गरी मनाउने छठ पर्व पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्क्षा पूरा हुने धार्मिक मान्यता रहि आएको बताउनुहुन्छ, पण्डित कमलकान्त झा ।

सूर्य पुराण अनुसार सर्वप्रथम श्रीमती अनुसुइयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरुप उहाँले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको उहाँले बताउनुभयो ।