• ८ चैत २०८२, आइतबार

बेमौसमी वर्षाले बाँकेमा नौ करोड बराबरको इँटा नष्ट

blog

वर्षाले गर्दा गलेर कामै नलाग्ने गरी नष्ट भएका काँचो इँटाहरु । तस्विर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत ८ गते ।
गत दुई दिनदेखि भएको बेमौसमी वर्षाले गर्दा बाँके जिल्लामा मात्रै करिब नौ करोडको काँचो इँटा गलेर नष्ट भएको छ ।

जिल्लाका इँटा व्यवसायीहरुका अनुसार पकाउनका लागि तयारी अवस्थामा राखिएको ठुलो परिमाणको काँचो इँटा गलेर नष्ट भएपछि व्यवसायीलाई आठ करोड ७५ लाख रुपियाँको आर्थिक क्षति भएको हो ।

इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं बाँकेको पिबीसी ईट्टा उद्योगका सञ्चालक दिपक अधिकारीले बेमौसमी वर्षाले गर्दा एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको बताउनुभयो ।

उहाँले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख जति काँचो ईट्टा नष्ट भएकाले ८ करोड ७५ लाख रुपियाँको क्षति भएको बताउनुभयो । एउटा काँचो इँटाको मूल्य दुई रुपियाँ पचास पैसा पर्ने समेत अधिकारीले बताउनुभयो । 

व्यवसायीका अनुसार खुला चौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटाहरु बगेर माटोमा परिणत भएका छन् ।

कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठुलो क्षति व्यहोर्नु परेको बाँकेका व्यवसायीहरुको भनाइ छ । 
इँटा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीहरुले ठुलो क्षति व्यहोर्नु परेको बताउनुभयो ।

उहाँले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठुलो मर्का पर्दै आएको बताउनुभयो । 

२४ घण्टाको वर्षाले प्रत्येक इँटा व्यवसायीको तीनदेखि सात लाखका दरले क्षति भएको अनुमान गरिएको जनाउँदै चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यो क्षतिका कारण इँटा उत्पादन घट्ने र मूल्य बढ्ने बताउनु भयो ।

यो सिजनको सुरुमै वर्षाले करिब चार करोड जति इँटा नष्ट भएकाले अर्को पटक इँटा उत्पादन नहुँदासम्म इँटा अभाव कायमै रहने देखिएको खाँको भनाइ छ ।

इँटा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म इँटा उत्पादन गर्ने गरेका छन् । ‘‘एक पटकमा छ देखि दश लाखसम्म इँटा तयार पारिन्छ,’’ इँटा व्यवसायी खाँले भन्नुभयोे, ‘‘यसपटक सुरुमै दोस्रो राउण्डमै क्षति भएको छ ।’’