राजन रावत
हुम्ला, चैत ८ गते । चालु आर्थिक वर्ष ०८२/०८३ का लागि जिल्लाको रैथाने बालीको मूल्य सामान्य वृद्धि गर्दै निर्धारण गरिएको छ। जिल्ला प्राथमिक खरिद समितिको बैठकले रैथाने बालीको मूल्यमा केही वृद्धि गर्दै निर्धारण गरेको हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सिमकोट शाखाका प्रमुख कृष्णबहादुर थापामगरका अनुसार, गत वर्षको मूल्यलाई आधार मान्दै यस वर्ष मूल्य निर्धारण गरिएको हो। समितिले सिमी र उवाको मूल्य प्रति किलो १० रुपियाँले वृद्धि गर्ने निर्णय गरेको छ भने चिनो, कागुनो, तितो फापर, मिठो फापर र कोदो प्रति किलो ५ रुपियाँले वृद्धि गर्ने निर्णय गरेको छ।
नयाँ मूल्य अनुसार, सिमीको मूल्य प्रति किलो १८० रुपियाँ, उवाको १३० रुपियाँ, चिनोको चामल १८५ रुपैयाँ, कागुनोको चामल १८५ रुपियाँ, तितो फापर १०५ रुपियाँ, मिठो फापर १०५ रुपियाँ र कोदो १०५ रुपियाँ कायम हुनेछ। यो मूल्य आइतबारबाट लागू हुनेछ।
अघिल्लो वर्षसम्म लिमीटेडले सिमकोट गाउँपालिकाबाट मात्रै रैथाने बाली खरिद गर्दै आएकोमा, यस वर्षदेखि खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाबाट पनि खरिद गर्ने भएको छ। लिमीटेडले आवश्यकताका आधारमा मात्र यी बाली खरिद गर्ने जनाएको छ।
समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, कृषि विकास कार्यालयका प्रमुख चुडामडी पन्त, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठनबहादुर रोकाया र कृषि प्राविधिकको समेत उपस्थिती रहेको थियो।