• ८ चैत २०८२, आइतबार

बेमौसमी वर्षाले मधुवा किरा नष्ट : आँपमा फाइदा

blog

वर्षाले मधुवा किरा नष्ट गरेपछि टिकुला लागेर सफा देखिएको आँपको रुख । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, चैत ८ गते । बेमौसमी वर्षाले आँपको मञ्जर (मजुरा) लाई फाइदा गरेको छ । शुक्रबार र शनिबार परेको पानीले आँपको मञ्जरमा लागेको मधुवा किरा नष्ट भएपछि आँपको मञ्जरलाई फाइदा गरेको हो ।

वर्षाअघि मञ्जरमा लागेक मधुवा किरा मार्न किटनासक औषधी छरेको रुखको मञ्जरमा वर्षाले असर नगरेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले बताउनुभयो । उहाँले भन्नुभयो, "जुन रुखमा मधुवा किरा मार्न किटनासक औषधी छरेको थिएन, त्यस्तो रुखको मञ्जर वर्षाले सफा (झरेको) गरेको हो ।" 

अहिले अधिकांश आँपको बोटमा टिकुला लागिसकेको उहाँले वर्षाले टिकुलालाई मजबुद पारेको बताउनुभयो । यसले सानतिनो हावाहुरीमा आँपको टिकुला नझर्ने हुँदा अहिले आएको हावाहुरी सहित वर्षाको कारण आँप उत्पादनमा कमि नआउने बताउनुभयो ।

आँप बगैंचा ठेक्का लिएका व्यवसायीहरू पनि वर्षाले फाइदा गरेको बताउनुहुन्छ । जिल्लाको शम्भुनाथ नगरपालिका निवासी आँप व्यापारी मो. गुलावले वर्षाले मञ्जरमा ठूलो राहत पुर्‍याएकाले उत्पादन पनि राम्रै हुने अनुमान रहेको बताउनुभयो । “ठेक्कामा बगैंचा लिएर मञ्जरलाई स्याहार गरेका छौं, अहिलेको वर्षाले निकै फाइदा भएको छ, आम्दानी पनि अपेक्षाअनुरुप हुन्छ होला” उहाँले भन्नुभयो ।

सप्तरीमा उत्पादन हुने मालदह र दसहरी जातका आँप भारतका कोलकाता र सिलिगुढीसम्म निर्यात हुने गरेका छन् भने कतार, साउदी अरब लगायत खाडी मुलुकमा पनि पठाइने गरिएको व्यापारीहरु बताउँछन् । अवकाशप्राप्त वरिष्ठ कृषि विकास अधिकृत अनुपलाल साहका अनुसार जिल्लामा उत्पादन हुने करिब २५ प्रतिशत आँप विदेश निर्यात हुने गरेको छ ।

यस वर्ष आँपका रुखमा प्रशस्त मञ्जर लागेकाले किसानहरू सुरुदेखि निकै खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको रुपनी गाउँपालिकाका किसान देवनारायण साहले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राउतका अनुसार वर्षाले आँपमा फाइदा गरेपनि मकै, गहुँ लगायत दलहन, तेलहन बालीमा थोरबहुत क्षति पुर्‍याएकाे जानकारी दिनुभयो । उहाँले जिल्लामा करिब नौ हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ । सप्तरीमा उत्पादन हुने आँप काठमाडौं, विराटनगर, हेटौंडा, वीरगञ्ज, पोखरा लगायत देशका विभिन्न शहरमा आपूर्ति हुने गरेको छ । राजधानी काठमाडौंमा खपत हुने आँपमध्ये ४० देखि ५० प्रतिशतसम्म सप्तरीबाट जाने गरेको तथ्याङ्क छ ।

जिल्लामा आँपका बोटमध्ये करिब ७५ प्रतिशत मालदह जातका रहेका छन् भने १० प्रतिशत बम्बई, कलकतिया, दशहरी, मलिका र बाँकी १५ प्रतिशत अन्य जातका रहेका छन । धरमपुर, रुपनगर, घोघनपुर, जगतपुर, कञ्चनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुशहा, कल्याणपुर, कडरबोना र कठौना लगायत उत्तरी भावर क्षेत्रका विभिन्न स्थानमा व्यावसायिक रूपमा आँप खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।