काठमाडौँ, चैत ८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिनुभएको राजीनामालाई आइतबार सम्पन्न बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो ।
उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपास्थित पार्टी मुख्यालयमा चैत ६ गतेदेखि सुरु भएको बैठकले वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाकै नेतृत्व आवश्यक रहेको ठहर गरेको छ । प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचन पराजयको प्रमुख कारण नेतृत्वको व्यक्तिगत कमजोरी नभई संरचनागत समस्या र नियन्त्रणबाहिरको परिस्थिति रहेको बैठकको निष्कर्ष छ । राजीनामा स्वीकृत गर्दा पार्टीमा अस्थिरता र अन्योल बढ्ने भएकाले 'कांग्रेस २.०' अभियानलाई निरन्तरता दिन राजीनामा अस्वीकार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ । समीक्षाअनुसार आन्तरिक गुटबन्दी, गठबन्धन सरकारको कमजोर कार्यसम्पादन, पुराना शक्तिप्रति जनआक्रोश र डिजिटल माध्यममा नयाँ शक्तिहरूको प्रभावका कारण कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको ठहर गरिएको छ ।
अब पार्टीको सम्पूर्ण ध्यान १५ औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र साङ्गठनिक पुनर्संरचना गरिने कांग्रेसले जनाएको छ ।
यसैगरी, बैठकले मध्यपूर्वमा जारी युद्धप्रति चिन्ता व्यक्त गर्दै इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई तत्काल सकुशल मुक्त गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
२०८२ भदौमा भएको 'जेनजी' प्रदर्शनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न पनि माग गरिएको छ । बैठकले पार्टीका विभिन्न तहमा रहेर योगदान पुर्याएका दिवङ्गत नेताको सम्मानमा शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।
प्रेस विज्ञप्ति
आदरणीय सञ्चारकर्मी मित्र,
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक २०८२ चैत्र ६ देखि ८ गतेसम्म उपसभापति श्री विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा उपसभापतिद्वारा प्रस्तुत विषयमाथि ८८ जना सदस्य तथा पदाधिकारिहरू द्वारा आफ्नो धारणा राख्नु भयो । वैठकमा भएका गहन छलफल, विश्लेषण तथा समिक्षा पश्चात् निम्न निर्णयहरू सर्वसम्मत रूपमा गरिएको छ:
१. सभापतिको राजीनामा सम्बन्धमा निर्णय
सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ।
२. राजीनामा अस्वीकार गर्ने आधारहरू
बैठकले निम्न आधारहरूलाई ध्यानमा राख्दै राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ:
• निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
• वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
• राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
• राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
• सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
• विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
• पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
• केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले
३. निर्वाचन परिणामको प्रारम्भिक समीक्षा लाई परीमार्जन सहित पारीत गरिएको छ ।
उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि वैठकमा विस्तृत छलफल गरिएको छ।
निर्वाचन परिणामलाई लिएर जिल्ला र निर्वाचन क्षेत्रवाट पनि प्रतिवेदन पठाउन भनिएको छ । प्रारम्भिक समिक्षा र जिल्ला वाट आएको प्रतिवेदनलाई एकिकृत गरि पून: समिक्षा गरि निर्वाचन परीणामम
प्रस्तुत २७ बुँदे प्रतिवेदनको सारांशअनुसार निर्वाचन परिणामका प्रमुख कारणहरू निम्नानुसार रहेका छन्:
• चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु।
• गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु।
• विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत ) का कारण जनआक्रोश बढ्नु।
• जेन–जेड युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु।
• डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुग्नु।
यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको बैठकले ठहर गरेको छ। विशेष महाधिवेशन पश्चात् गठन भएको नयाँ नेतृत्वलाई सीमित समयावधि (करिब ५० दिन) भित्र यी सबै चुनौतीहरू समाधान गर्न कठिन भएको निष्कर्ष रहेको छ।
४. आगामी कार्यदिशा: १५औँ महाधिवेशन
नेपाली कांग्रेस अब पूर्ण रूपमा १५औँ महाधिवेशनतर्फ केन्द्रित भएको छ।
उक्त महाधिवेशनमार्फत:
• नयाँ नेतृत्व चयन,
• विधान संशोधन,
• संगठनात्मक पुनर्संरचना,
• तथा भावी रणनीति निर्धारण गरिनेछ।
पार्टीका सम्पूर्ण ऊर्जा, योजना र प्रतिबद्धता अब यस महाधिवेशनको सफलतामा केन्द्रित रहनेछ।
५. पार्टी नवनिर्माण र सुदृढीकरण
यस निर्वाचन परिणामलाई आत्म समिक्षा गर्दै नेपाली कांग्रेसले पार्टीलाई पुनर्जागरण र पुनर्निर्माण गर्ने अवसर का रूपमा लिएको छ।
यसका लागि सम्पूर्ण कार्यकर्तालाई:
• उच्च मनोबल कायम राख्न,
• अनुशासनमा रहन,
• र पार्टी एकता सुदृढ गर्न हार्दिक आह्वान गरिन्छ।
एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
६. धन्यवाद तथा बधाई
निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुहुने:
• सम्पूर्ण उम्मेदवार,
• कार्यकर्ता,
• भातृ तथा शुभेच्छुक संस्थाहरू,
• तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
विजयी सबै उम्मेदवारहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौ ।
कठिन परिस्थितिका बाबजुद नेपाली कांग्रेसलाई मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं।
जनताको मतादेश र स्पष्ट सन्देशलाई पार्टीले गम्भीरतापूर्वक आत्मसात गर्दछौ ।
विविध :
क)मध्यपूर्वमा चर्किएको युद्द सम्वन्धमा यो वैठक विश्वशान्तिको अनिवार्य आवश्यकतालाई महसुस गर्दै युद्दको अन्त्य हुने अपेक्षा गर्दछ । युद्दग्रस्त क्षेत्रमा लाखौ नेपालीहरू असुरक्षित छन् तीनको आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाली काग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।
युद्दको क्रममा हर्मुज क्षेत्रको वन्दर अव्वास वन्दरगाहमा ईरानी सेना द्वारा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झा लाई सकुसल मुक्त गरि स्वदेश फर्काउन यो वैठक नेपाल सरकार संग माग गर्दछ ।
ख) २०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटना बारे न्यायिक जाँचवुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा नेपाल सरकारलाई बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न यो बैठक माग गर्दछ ।
ग) शोक प्रस्ताव
कार्यसमितिको २०८२ माघ ९ देखि यो बैठकका बीचको अवधिमा— नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरूको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।
जय नेपाल!
देवराज चालीसे
प्रवक्ता
नेपाली काग्रेस, केन्द्रिय समिति ।