लीलाराज खड्का
बिर्तामोड, चैत ८ गते । झापाको बुद्धशान्ति गाउँपालिका ४ टिमाईस्थित कमल खड्काको मकैवारीमा फेला परेको हिंस्रक चितुवाको आक्रमणमा परी ५ जना घाइते भएका छन् ।
आइतबार दिउसो १ बजेको समयमा मकैवारीमा फेला परेको चितुवाले मान्छे र जनावारलाई आक्रमण गर्न थालेपछि चितुवा पक्रनका लागि कोशीटप्पु वन्यजन्तु आरक्षणको टोलीसहित सशस्त्र प्रहरी वल टिमाईको प्रहरीटोलीका सहायक प्रहरी नायक निरिक्षक केदार श्रेष्ठ सहित स्थानीय बुद्धशान्ति गाउँपालिका ६ बस्ने ५० वर्षीया कृष्ण गजमेर, ५४ वर्षीया दुर्गाबहादुर कटुवाल, मेचीनगर नगरपालिका १० का २६ वर्षीया विशाल कार्कीलाई समेत चिथोरेर घाइते बनाएको थियो ।
प्रहरीसहित ५ जनालाई नियन्त्रणमा लिनेक्रममा घाइते बनाएपछि साँझ ६ बजे स्थानीयले ढुङ्गा प्रहार गरेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
चितुवाको आक्रमणमा परि घाईते सबैको स्थानीय भागिरथा न्यौपाने अस्पतालमा हाल उपचार भइरहेको र मृतक चितुवालाई डिभिजन वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।
आइतबार दिनभरजसो चितुवा आतंकका कारण यस क्षेत्रमा जनजीवन आतङ्कित बनेको थियो ।