• ९ चैत २०८२, सोमबार

कपुरकोटमा मिटर बक्स आपूर्तिमा ढिलाइः वडा अध्यक्ष खड्काद्वारा धर्ना

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत ८ गते । कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काले मिटर बक्सको सहज आपूर्ति र वितरणमा ढिलाइ भएको भन्दै नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सल्यानमा धर्ना दिनुभएको छ।

ग्राहकले मिटर बक्सका लागि दिएको आवेदन सोही दिन कार्यालय समयमा उपलब्ध गरिनुपर्ने माग राख्दै उहाँले केन्द्रको कार्यालय परिसरमा एक्लै धर्ना दिनुभएको हो।

वडा अध्यक्ष खड्काले पूर्ण विद्युतीकरणको कार्यमा ढिलाइ भइरहेको र सेवा छिटो प्रवाह गर्नुपर्ने भएकाले धर्ना दिएको बताउनुभयो। उहाँका अनुसार आजै कार्यालय समयमा मिटर बक्सका तीनवटा फाइल पेश गरिएको छ र सोही दिन मिटर बक्स उपलब्ध गराइए धर्ना अन्त्य गर्ने बताउनुभएको छ।

“ग्राहकलाई सास्ती दिने काम सरकारी निकायबाट हुनु हुँदैन,” उहाँले भन्नुभयो।  विद्युत वितरण केन्द्र सल्यानका प्रमुख नरेशदत्त रावतले भने निवेदन दिएको २४ घण्टाभित्र कोर्डसहित सामग्री उपलब्ध गराउने प्रक्रिया भएकाले तत्काल मिटर बक्स उपलब्ध गराउन कठिन हुने जनाउनुभयो। “कोर्ड बिना मिटर बक्स मात्र दिन मिल्दैन,” उहाँको भनाइ छ।

हाल वडा अध्यक्ष खड्का र वितरण केन्द्र प्रमुखबीच समस्या समाधानका लागि छलफल भइरहेको छ। वडा अध्यक्ष खड्काले पूर्ण विद्युतिकरणको काम छिटो छरितो गर्न र मिटर बक्स वितरणमा सहज व्यवस्था नभएसम्म राति पनि धर्ना बस्ने बताउनुभयो ।