कैलाली, चैत ८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री शाहले परम्परागत तरिकाले नभई जनताले अनुभूति गर्ने गरी काम गर्न मातहतका मन्त्रालयलाई आग्रह गर्नुभयो ।
विकास निर्माणका योजना कागजमै सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने मुख्यमन्त्री शाहले धारणा व्यक्त गर्नुभयो । ढिलासुस्ती, लापरबाही र औपचारिकता मात्र पूरा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
“परपम्परागत धारणा, परिस्थितिमा हामी अगाडि बढ्ने हो भने प्रश्नहरु तपाई र हामीबीच सधैँभरि उठी नै रहने तथा हामीसँग जवाफ हुँने ठाउँ रहँदैन”, उहाँले भन्नुभयो, “यद्यपि मैले केही पनि नभएको भन्न खोजेको होइन, समय परिस्थिति, घटनाक्रमले केही अवरोधहरु सिर्जना हुँदाहुँदै पनि त्यो सबै कुरा हुँदाहुँदै पनि हाम्रो यो पुरानो यथास्थितिका कुराहरुलाई हामीले निरन्तर अगाडि बढायौँ भने परिवर्तनको महत्व जनताले पनि गर्दैनन् र परिवर्तनको सन्देश पनि हामी दिन सक्दैनौँ । रासस