साजन परियार
पर्वत, चैत ८ गते । जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको पर्वत प्रहरी पर्याप्त भवन र जनशक्तिको अभावमा काम गर्न बाध्य भएको छ ।
आवश्यक भौतिक पूर्वाधार नहुँदा प्रहरीको दैनिक गतिविधि तथा सेवा प्रवाहमा समेत असर परेको छ । पर्वतमा हाल ३० वटा प्रहरी चौकी सञ्चालनमा छन् ।
जिल्लाका विभिन्न स्थानमा रहेका अधिकांश प्रहरी चौकी अझै पनि पुराना, जीर्ण र भाडाका भवनबाट सञ्चालन हुँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिनेश पौडेलका अनुसार ९ वटा प्रहरी चौकी मात्र आफ्नै जग्गा र भवनमा छन् भने ४ वटा प्रहरी चौकीको मासिक भाडामा सञ्चालन भइरहेका छन् । त्यस्तै ३ वटा प्रहरी चौकी स्थानीय पालिकाको सहयोगमा सञ्चालन गरिएको छ ।
विशेषगरी ग्रामिण भेगमा रहेका प्रहरी चौकीहरुमा आधारभूत पूर्वाधारको अभाव देखिएको छ । कार्यालय, हिरासत कक्ष, सेवाग्राही बस्ने स्थान, टेलिफोन, कम्प्युटर, पिन्टर र इन्टरनेट आवश्यक सामग्री नुहँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ भने प्रहरी कर्मचारी स्वयं पनि असहज बातावरणमा काम गर्न बाध्य छन् ।
त्यस्तै जनशक्ति अभाव पनि अर्को प्रमुख समस्या बनेको छ । तोकिएको दरबन्दी अनुसार प्रहरी नहुँदा एउटै प्रहरीले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था छ ।
पर्वतमा ३ सय ४० दरबन्दी हुनुपर्नेमा हाल २ सय ७० मात्र कार्यरत छन् । सिमित जनशक्तिका कारण गाउँ–गाउँमा नियमित गस्ती, अनुसन्धान तथा शान्ति सुरक्षाका गतिविधि प्रभावकारी बनाउन कठिनाइ भइरहेपनि पनि जिम्मेवारी बाँडफाँड गरेर सहज रुपमा नागरिकलाई सेवा प्रवाह गरिरहेको प्रहरी निरिक्षक पौडेलले बताउनुभयो ।
जिल्लामा बढ्दो अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा समेत प्रहरीलाई चुनौती थपिँदै गएको छ । यस्तो अवस्थामा आवश्यक भवन निर्माण र पर्याप्त जनशक्ति व्यवस्थापन नगरेसम्म प्रभावकारी सेवा दिन कठिन हुने देखिन्छ ।
यस्तै, पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा अस्थायी प्रहरी चौकीको आफ्नै भवन निर्माण कार्य सुरु गरिएको छ ।
स्थापना कालदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको प्रहरी चौकी अब सुविधासम्पन्न आफ्नै भवनमा स्थानान्तरण हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको ७ लाख रुपैयाँ र फलेवास नगरपालिकाको ३ लाख रुपियाँको संयुक्त लगानीमा भवन निर्माण थालिएको हो । भवनको शिलान्यास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले गर्नुभएको हो ।
स्थानीयवासीको सक्रिय पहलमा प्रहरी चौकी तथा वडा कार्यालय निर्माणका लागि ८ रोपनी ४ आना जग्गा चन्दा संकलनमार्फत खरिद गरिएको छ। सो जग्गामध्ये ५ रोपनी ३ आनामा प्रहरी चौकी भवन र ३ रोपनी १ आनामा वडा कार्यालय निर्माण गरिने जनाइएको छ । नयाँ भवन निर्माणसँगै प्रहरी चौकीको सेवा प्रवाह थप प्रभावकारी हुने र स्थानीयस्तरमा शान्ति सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।