जयकृष्ण यादव
इनरुवा, चैत ८ गते । सुनसरीको इनरुवा नगरपालिका –७ बर्छवाकी १० वर्षीया राजकुमारी ऋषिदेवले आर्थिक अभावका कारण कक्षा ४ मा बिचैमा कक्षा छाड्नुभएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि बालिकालाई विद्यालय नियमित जान दाताहरुले सहयोग गर्नुभएको छ ।
गोरखापत्रमा आएको समाचार पढेर सहयोगीहरुले आर्थिक अभावले बिचैमा कक्षा छाड्नुभएको ऋषिदेवलाई शैक्षिक सामग्री र एक थान साइकल सहयोग गरेको हो । इनरुवा नगरपालिकामा प्रस्तावित उज्यालो यात्रा नेपालको माध्यमबाट समाजसेवीहरुले स्टेशनरीसहितको शैक्षिक सामग्री, नगद र एक थान साइकल सहयोग गरेको अभियन्ता समाजसेवी दिनेश शिवाले जनाकारी दिनुभयो ।
उज्यालो यात्रा नेपालको अगुवाइमा समाजसेवी प्रध्यापक, अधिवक्ता उद्धव काफ्लेको प्रमुख आथित्यतामा बालिकाको घरमै पुगेर स्टेशनरीसहितको शैक्षिक सामग्री र साइकल सहयोग हस्तान्तरण गरेको थियो । उज्यालो यात्रा नेपालको अगुवाइमा समाजसेवी रबिन्द्र ठाकुर, दिनेश शिवा, कमल उपाध्याय, सागर श्रेष्ठ, दामोदर खतिवडा, सोमराज श्रेष्ठ, बिपिन दाहाल, मनोज सोनी, दिपक क्षेत्री, अनिल श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरेको थियो ।
फागुन २ गते ऋषिदेव बिचमा कक्षा छाड्नुभएको समाचार प्रकाशन भएको थियो । समाचार पढ्नुभएको सहयोगीकर्ताले स्टेशनरीसहितको शैक्षिक सामग्री र साइकल सहयोग हस्तान्तरण गरेपछि बालिका नियमित विद्यालय जाने बताउनुभएको छ ।