चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ८ गते। ताप्लेजुङमा वर्षासँगै हिमपात भएपछि किसानहरु हर्षित भएका छन्। हिउँदयाम सकिएलगत्तै माटो अर्थात जमिन भिज्नेगरी वर्षा र हिमाली भेगमा हिमपात भएपछि जिल्लाका किसान हर्षित भएका हुन्।
खाद्यान्न बाली मकै खेती गर्ने मौसममा वर्षा भएकाले स्थानीय किसान हर्षित भएका छन्। त्यस्तै वर्षा भई दिँदा अलैँची खेतीमा संलग्न किसानमा पनि खुसी छाएको छ। हिउँद यामभर पानी नपरेका कारण समयमा मकै खेती लगाउन नपाएका किसानलाई वर्षाले ठूलो राहत मिलेको हो।
यसअघि नै लगाएको मकै खेती र खेती लगाउन बाँकी रहेको ठाउँका लागि माटो भिज्नेगरी भएको वर्षाले राम्रो गरेको किसानको भनाइ छ। किसानका अनुसार वर्षा भएपछि खेतबारी खनजोत गर्नलाई सहज भएको छ। त्यस्तै खेती लगाई सकिएको खेतबारीमा मकै उर्मिन र बिरुवा हुर्किनलाई पनि वर्षाले राम्रो भएको किसानहरु बताउँछन्।
यसैगरी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची खेतीका लागि वर्षा र हिमपातले ठूलो राहत मिलेको छ। हिमाली भेगमा हिमपात र यो समयमा वर्षा भई दिँदा अलैँची खेतीका लागि धेरै राम्रो भएको किसानको भनाइ छ। फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका अलैँची किसान खाङ्डु शेर्पाले अलैँची बालीलाई सिँचाइको आवश्यक भइरहेका बेला वर्षा भएकाले राहत मिलेको बताउनुभयो।
शेर्षाका अनुसार अलैँची बालीमा सिँचाइ गर्ने पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ। अलैँची बालीमा सिँचाइ गर्न मूलको पानी भन्दा आकाशे पानी राम्रो हुने पनि उहाँले बताउनुभयो। अलैँची फूल खेलेर दाना लाग्ने र नयाँ टुसा पलाएर हुर्कंदै गरेको समयमा भएको वर्षाले फाइदा गरेको किसानहरु बताउँछन्।
यस्तै यो समयमा भएको वर्षाले मकै लगायतका खाद्यान्न बाली, नगदेबाली अलैँचीलाई मात्र नभई फलफूल र तरकारी खेतीका लागि पनि राम्रो गरेको किसानले बताएका छन्। किसानका अनुसार अहिले फूल खेल्दै गरेको बाली, टुसा र मुना पलाउँदै गरेको बोटबिरुवा साथै खेतीका लागि वर्षा र हिमपातले राम्रो गरेको छ।
यता खेती बालीनालीसँगै वातावरण सन्तुलन राख्नमा समेत वर्षा र हिमपातले राम्रो गरेको छ। वर्षा भने यही शुक्रबार र शनिबार भएको थियो। ताप्लेजुङस्थित जल तथा मौसम विज्ञान फिल्ड कार्यालयका इन्चार्ज सुयोग भट्टराईका अनुसार शुक्रबार २८.५ मिलिटिर र शनिबार २१.५ मिलिमिटर वर्षा भएको थियो। वर्षासँगै जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ।