काठमाडौँ, चैत ८ गते । भारतका चर्चित निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा सहभागी हुनुहुने भएको छ ।
निफका अध्यक्ष केपी पाठकका अनुसार निर्देशक सिप्पी उद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित हुन नेपाल आउने निश्चित भएको हो । महोत्सवका क्रममा उहाँले भारतीय चलचित्रको यात्रा, आफ्नो अनुभव र बलिउडको बजारबारे नेपाली चलचित्रकर्मी तथा दर्शकसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
अध्यक्ष पाठकले भन्नुभयो, “नेपाली र भारतीय चलचित्रकर्मीबीचको सम्बन्ध विस्तार र उहाँजस्तो दिग्गज व्यक्तित्वको अनुभवबाट नेपाली मेकरहरूलाई बलिउडबारे बुझ्न मद्दत पुग्ने भएकाले हामीले निफमा आमन्त्रण गरेका हौँ ।”
रमेश सिप्पीले दर्जनभन्दा बढी चलचित्र निर्देशन गर्नुभएको छ । बलिउडको इतिहासमा ‘कोसेढुङ्गा’ मानिने चलचित्र ‘शोले’ उहाँकै निर्देशनमा बनेको हो । सन् २०२० मा प्रदर्शनमा आएको ‘सिम्ला मिर्ची’ उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र हो । उहाँले अमिताभ बच्चन, शाहरुख खान, धर्मेन्द्र, राजेश खन्नालगायतका ठूला स्टारहरूलाई आफ्ना चलचित्रमा अभिनय गराउनुभएको छ ।
नवौँ संस्करणको निफ आगामी चैत १९ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ चलचित्र देखाइनुका साथै विभिन्न विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।