• ८ चैत २०८२, आइतबार

पिएम कप : एपिएफको विजयी सुरुवात

blog

सतक बनाएपछि आसिफ शेख । तस्बिर : क्यान

काठमाडौँ, चैत ८ गते । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ७१ रनले हरायो । जितका लागि दुई सय ७२ रनको लक्ष्य पछ्याएको बागमती ४५.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय रनमा समेटिएको थियो ।

बागमतीका लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै सुवास खत्रीले २७, उत्तम मगरले २६, शिभम् तिवारीले २५, रिजन ढकालले अविजित २० र इशान पाण्डेले १७ रन बनाउनुभयो ।

बलिङमा एपिएफका कप्तान रोहित पौडेल र अभिषेक गौतमले तीन तीन विकेट लिनुभयो । कमल ऐरी, नन्दन यादव, युवराज खत्री र अमर रौटेलाले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७१ रनको  योगफल तयार पारेको हो ।

एपिएफका लागि आसिफ शेखले सर्वाधिक एक सय १४ रन सतकीय इनिङ्स खेल्नुभयो । उहाँले १४ चौका र तीन छक्का हान्नुभएको थियो । यस्तै सन्दीप जोराले ५२, लोकेश बमले २९, युवराज खत्रीले अविजित २६ र कप्तान रोहित पौडेलले नौ रन बनाउनुभयो । 

बलिङमा बागमतीका लागि रिजन ढकालले चार विकेट लिनुभयो । सायस्तै इशान पाण्डेले दुई तथा सन्दीप लामिछाने र सोनु देवकोटाले एक एक विकेट लिनुभयो ।

यस्तै तल्लो मुलपानी मैदानमा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २२ रनले हरायो ।

जितका लागि दुई सय ४४ रनको लक्ष्य पछ्याएको पुलिस ४५.३ ओभरमा सवै विकेटको क्षतिमा दुई सय २१ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४७ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४३ रन बनाएको थियो ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछन् ।