काठमाडौँ, चैत २३ गते । दीपक विष्ट नेपाली खेलकुदले पाएको सर्वाधिक सफल खेलाडी हुनुहुन्छ । विष्टले तेक्वान्दो खेलबाट नेपालका लागि दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी लगातार चार स्वर्ण पदक र एसियाली खेलकुदमा दुई कास्य जित्नुभएको छ ।
उहाँ नेपालबाट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो पुरुष खेलाडी समेत हुनुहुन्छ । सुदूरपश्चिमको कञ्चनुपुरस्थित रैकवार विचुवारमा जन्मिनुभएका विष्टले सुरुवातमा भलिबल खेल खेल्नुभयो । भलिबलपछि तेक्वान्दो खेल अँगाल्नुभएका विष्टले यस खेलमा पाएको सफलताले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उँचो बनाउन ठुलो सहयोग गरेको छ ।
२०७१ सालमा सक्रिय खेल जीवनबाट सन्न्यास लिनुभएका विष्टले खेलाडी जीवनपछि पनि प्रशिक्षकको रुपमा लामो समय योगदान दिनुभयो । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारी विभागको निर्देशक रहनुभएका विष्ट खेलकुदले आफुलाई सबै चिज दिएको बताउनुहुन्छ ।
‘‘एउटा सामान्य गाउँबाट आएको मानिस मलाई खेलकुले नै सर्वस्व दिएको छ । यसलाई मैले विर्सनु र छाड्नु भनेको सोचाईभन्दा बाहिरको कुरा हो । जुनसुकै भूमिकामा रहे पनि म खेलकुदबाट टाढा हुन सक्दिन । यसैको माध्यमबाट देशलाई अझ केही गरौँ भन्ने लाग्छ’’ ४९ वर्षीय विष्टले भन्नुभयो ।
दक्षिण एसियाली खेदुकद सागमा कीर्तिमानी चार स्वर्णधारी विष्ट २०१० मा बङ्गलादेशमा भएको ११ औँ साग गेम्सपछि रिङमा उत्रिनु भएको छैन । उहाँको जिम्मेवारी अहिले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय एरिनामा उतारेर सक्दो उपलब्धि दिलाउनु रहेको छ ।
खेलकुदभित्र देखिएको घिनलाग्दो राजनितिले भने उहाँ सँधै निराश बन्दै आउनुभएको छ । ‘‘नेपाली खेलकुदमा खेल बुझेका भन्दा राजनीति गर्नेको अखडा भयो ।
विगतदेखि चुलिएको युवा तथा खेलकुद मन्त्रालय, राखेप र ओलम्पिक कमिटिबिचको कलह कहिल्यै समाधान नहुनु विडम्बना हो । खेल सङ्घमा समेत ब्यक्तिगत स्वार्थका मानिस हावी हुँदा खेलाडीले दु:ख पाएका छन् ।
नेपाली खेलकुदमा एक खालको लुतो रोग छ । त्यसलाई अब बनेको दुई तिहाई सरकारले फालोस् । खेलकुद वुझेकालाई काम गर्न दिएमा समस्या समाधान हुने आशा गरेको छु । नयाँ सरकारले खेलाडीको पक्षमा केही राम्रो काम गर्छ भन्ने लागेको छ’’ विष्ट भन्नुहुन्छ ।
नेपाली खेलकुदका सर्वकालिन धरोहर विष्टसँग खेलकुदको विगत, वर्तमान र आगामी योजनाबारे गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :