• ७ वैशाख २०८३, सोमबार

प्रधानमन्त्री कप : मधेशको लगातार तेस्रो जित

blog

काठमाडौँ, चैत १६ गते । मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

जनकपुरस्थित रामजानकी मैदानमा सोमबार भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हरायो । मधेशको अपराजित यात्रामा अरनिको यादवले अलराउन्ड प्रदर्शन गर्नुभयो । 

कर्णालीले दिएको एक सय ३० रनको सामान्य लक्ष्य मधेशले २४.५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । मधेशको जितमा अरनिकोले अविजित ३२ रन बनाउनुभयो । उहाँले बलिङमा पनि दुई विकेट लिनुभयो । यस्तै निरज यादवले सर्वाधिक ३८ रन बनाउनुभयो । मयन यादवले २४ र पवन सरार्फले १७ रन बनाउनुभयो । 

बलिङमा कर्णालीका दिपेन्द्र रावतले तीन विकेट लिनुभयो । कप्तान दिवान पुन र प्रकाश जैसीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३१.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । 

कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाउनुभयो । अर्जुन घर्तीले २४, दिनेश अधिकारी र विपिन रावलले १८,१८ तथा कप्तान दिवान पुनले १२ रन बनाउनुभयो । 

बलिङमा मधेशका आशिक बैथले चार विकेट लिनुभयो । अरनि र विशाल पटेलले दुई दुई विकेट लिनुभयो । जितसँगै चार खेल सकेको मधेशले सात अङ्क बनाएको छ । पराजित कर्णालीको समात खेलबाट तीन अङ्क छ । 

वीरगन्जमा सुदूरपश्चिम विजयी

यसैगरी वीरगन्जस्थित टिबी साह क्रिकेट मैदानमा सोमबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले हराएको छ । जितका सुदूरपश्चिमले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो । 

लुम्बिनीका लागि सन्तोष यादवले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । धुर्व सुनारले ३६ तथा रञ्जित खड्काले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । 

बलिङमा सुदूरपश्चिमका कप्तान शेर मल्ल र खडक बोहोराले तीन तीन विकेट लिनुभयो । यस्तै हेमन्त धामीले दुई तथा नारायण जोशी र लोकेन्द्र चन्दले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि दिपक बोहोराले सर्वाधिक ३० रन बनाउनुभयो । यस्तै हेमन्त धामी २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४ र नारायण जोशीले ११ रन बनाउनुभयो । 

बलिङमा लुम्बिनीका सन्तोष यादव र अजय चौहानले चार चार विकेट लिनुभयो । सन्देश थापाले एक विकेट झार्नुभयो । जितसँगै सुदूरपश्चिमले चार खेलबाट ६ अङ्क बनाएको छ । पराजित लुम्बिनीको समान खेलबाट तीन अङ्क छ ।