• ८ चैत २०८२, आइतबार

क्यान्सरपीडित दत्तको सहयोगका लागि च्यारिटी साे गरिने

blog

क्यान्सर पीडित गीतकार तथा सञ्चारकर्मी अशोक दत्त । तस्बिरः समाजिक सञ्जालबाट

विजयकुमार साह 

ढल्केबर, चैत ८ गते । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित गीतकार तथा सञ्चारकर्मी अशोक दत्तको उपचारका लागि आर्थिक सहयोग जुटाउन जनकपुरका विभिन्न सङ्घसंस्था सक्रिय भएका छन् ।

मिथिला नाट्यकला परिषदको सभा कक्षमा बसेको बैठकले दत्तको उपचारार्थ च्यारिटी साे आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा मैथिली विकास कोष, रङ्गदर्पण, रामानन्द युवा क्लब, मैथिली साहित्यकार सभालगायत जनकपुरधामका दुई दर्जनभन्दा बढी कलाकारको सहभागिता रहेको थियो ।

बैठकले आगामी चैत २१ गते मैथिली विकास कोषको हलमा च्यारिटी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । सो कार्यक्रममा मिथिला क्षेत्रका दर्जनौँ कलाकारले आआफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने बैठकमा सहभागी रङ्गदर्पणका अध्यक्ष रितेश साहले बताउनुभयो ।

 उहाँका अनुसार कार्यक्रमबाट सङ्कलित रकम गीतकार दत्तको उपचारमा खर्च गरिने छ । उहाँले सबै कलाप्रेमी तथा सरोकारवाला निकायलाई कार्यक्रममा सहभागी भई सहयोग गर्नसमेत आग्रह गर्नुभयो । 

मिथिलाका सुप्रसिद्ध गीतकार, सङ्गीतकार, पूर्वखेलाडी तथा सञ्चारकर्मीसमेत रहनुभएका दत्त पछिल्लो समय आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारबाट वञ्चित हुनुहुन्छ । 

साङ्गीतिक र सञ्चार क्षेत्रमा लामो समय योगदान दिनुभएका उहाँ अहिले जीवन रक्षाका लागि सहयोगको पर्खाइमा रहेको रङ्गदर्पणका अध्यक्ष साहको भनाइ छ । 

दत्त विगत करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको उहाँले जानकारी दिनुभयो ।