बिकास अधिकारी
पश्चिम नवलपरासी, चैत ८ गते । पश्चिम नवलपरासीको रामग्राम–१४ अमरौटमा किसानहरूलाई कृषि यन्त्र उपकरण वितरण गरिएको छ । स्थानीय किसानको आवश्यकताको आधारमा एक सय १४ जना किसानलाई अनुदानमा विभिन्न कृषि यन्त्र उपकरण वितरण गरिएको हो ।
वडा कार्यालयले किसानहरूलाई पचास प्रतिशत अनुदानमा सिँचाई र विषादी छर्न आवश्यक कृषि यन्त्र उपकरण वितरण गरेको वडा अध्यक्ष ओमप्रकाश यादवले बताउनुभयो । २० वटा पम्प सेट, १६ वटा पानी तान्ने मोटर, ३४ वटा स्प्रे टयाङ्की र ६ सय ९ किलो डेलिभरी पाइप वितरण गरेको हो । स्थानीय मागका आधारमा किसानहरूलाई कृषि यन्त्र उपकरण वितरण गरिएको वडा अध्यक्ष यादवले बताउनुभयो ।
कृषि सामग्री वितरण गर्दे रामग्राम नगर प्रमुख धनपत यादवले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले काम गर्दे आएको बताउनुभयो । किसानलाई अनुदानमा कृषि यन्त्र उपकरण, बिउ बिजन नियमित रुपमा वितरण गर्दे आएको उल्लेख गर्दे नगर प्रमुख यादवले बाली विशेषका लागी अनुदान, रैथाने बाली संरक्षण र प्रर्वद्धनका लागी पनि बजेट विनियोजन गरेर किसानलाई सहयोग गर्दे आएको बताउनुभयो । नगरपालिकाले निर्माण गरिरहेको होम स्टेमा स्थानीय कृषि उपजको उपयोग गरिने भएकाले सो कार्यक्रमलाई लक्षित गरेर किसानहरूलाई विभिन्न आयमूलक तालिम समेत संञ्चालन गर्दे आएको यादवले जानकारी दिनुभयो ।
स्थानीय किसान पारसनाथ चौधरीले कृषि यन्त्र उपकरणले किसानलाई विशेष गरि सिचाईं कार्यमा धेरै सहयोग पुग्ने बताउनुभयो ।