• ८ चैत २०८२, आइतबार

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा

blog

अस्पतालका सञ्चालक डा. सुनील शर्मा ।

भक्तपुर, चैत ८ गते ।  दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा. सुनील शर्माले अस्पतालको नयाँ शाखाको उद्घाटन गर्नुभयो ।

प्रतिनिधि सभाका पूर्वसदस्यसमेत रहनुभएका डा. शर्माले हृदयघात र मस्तिष्क घातजस्ता जटिल रोगका बिरामीलाई समयमै उपचार सेवा प्रदान गरी ज्यान जोगाउने उद्देश्यले अस्पताल विस्तार गरिएको बताउनुभयो । उहाँले यहाँ उपलब्ध हुने सेवाहरू अत्याधुनिक र विशेषज्ञसहितको रहेको दाबी गर्नुभयो ।

उद्घाटनका क्रममा डा. शर्माले भन्नुभयो, “यो सामान्य अस्पताल मात्र होइन, यो ‘सुपर स्पेसियालिटी’ अस्पताल हो । रिङरोडभित्रका केही सीमित अस्पतालमा मात्र सम्भव हुने जटिल उपचार अब दुवाकोटमै उपलब्ध हुने छ । विशेष गरी मुटु र मस्तिष्कमा देखिने आकस्मिक समस्याका लागि टाढा धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।”

अस्पतालमा मुटु, मिर्गौला र मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारका लागि अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएको छ । डा. शर्माका अनुसार टाउको नचिरीकन गरिने नसाको उपचार (इन्टरभेन्सन) समेत यहाँ सम्भव हुने छ । अस्पतालले अति विपन्न वर्गका लागि निःशुल्क औषधी र उपचारको विशेष व्यवस्थासमेत गरेको जानकारी दिइएको छ ।