• ८ चैत २०८२, आइतबार

राइनासकोटको लालीगुराँसप्रति पर्यटक आकर्षित

blog

लमजुङको राइनासकोटमा फुलेको लालीगुराँस हेर्न आएका पर्यटकहरु । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, ८ गते । राता जस्ताले छाएको गुजुमुज्ज गाउँ । बनभरी फुलेका ढकमक्क लालीगुराँस र दन्तेलहर देखिने सेता हिमालले राइनासकोटको सुन्दरता बढाएको छ ।

समुद्री सतहबाट एक हजार ७७४ मिटर उचाइमा रहेको लमजुङको राइनास नगरपालिका –९ मा रहेको राइनासकोटको यो सुन्दरताले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । लालीगुराँसलाई पृष्ठभूमिमा राखेर फोटो, भिडियो खिच्न, टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भिड लाग्नेगरेको स्थानीयले बताएका छन् ।

राइनास नगरपालिका प्रमुख एवं राइनासकोट होमस्टे व्यवस्थापन समतिकिा निवर्तमान अध्यक्ष खड्गबहादुर गुरुङले लालीगुराँस हेर्न हजारौं पर्यटकहरु गाउँ आएको बताउनुभयो । उहाँले भन्नुभयो, “चैत, बैशाखमा फुल्ने लालीगुराँस यस वर्ष छिटै फुल्यो । अहिले यहाँका बनभरी लालीगुराँसले रातै देखिएपछि यो सुन्दर दृश्य हेर्न पर्यटक आगमन बढिरहेको छ ।” 

लालीगुराँस हेर्न आउने पर्यटकले यहाँ सञ्चालनमा रहेको घरबासमा समेत पर्यटक भरिभराउ भइरहेको उहाँको भनाइ छ । राइनासकोट घरबासमा बस्ने गरेर दैनिक ८०–९० जनाको हाराहारीमा पर्यटक आइरहेका छन् । लालीगुराँस मात्र हेर्न दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेको नगरपालिका प्रमुख गुरुङले बताउनुभयो ।

शुक्रबार, शनिबार तथा बिदाको समयमा दोब्बर तेब्बर पर्यटक आगमन हुने गर्दा यस क्षेत्रमा पर्यटकको भिड लाग्नेगरेको स्थानीय विष्णु गुरुङले बताउनुभयो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बालसिङ गुरुङका अनुसार यहाँ रहेका सांस्कृतिक, ऐतिहासिक संस्कृति र यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने गरे पनि यतिबेला लालीगुराँस पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

यहाँ आउने पर्यटकले भरिभराउ हुँदा यहाँका स्थानीयको आम्दानी समेत राम्रो भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको भोलिपल्टदेखि पर्यटकको ठूलो भिड लाग्दैआएको छ । स्थानीयका अनुसार यहाँ आउने पर्यटकहरुले लालीगुराँस, यहाँ रहेको सांस्कृतिक धार्मिक स्थलसँग भिडियो बनाउने, नाच्ने, फोटो खिच्ने गर्दछन् । 

राइनासकोट होमस्टे व्यवस्थापन समितिका अनुसार राइनासकोटमा गत वर्ष गण्डकी प्रदेश सरकारले २० लाख र राइनास नगरपालिकाको १५ लाख रुपियाँमा राइनासकोट गढी, कालिका मन्दिर मर्मत सो क्षेत्रमा करिब ५०० मिटर जति मिनी ग्रेटवाल निर्माण गरेर पर्यटकलाई थप आकर्षित गरेको छ । 

त्यस्तै, नगरपालिकाको करिब ६० लाख रुपियाँ बजेटबाट २५ मिटर अग्लो बुद्धको मूर्ति निर्माणदेखि पार्क निर्माणलगायत भौतिक पूर्वाधार निर्माण गरिरहेको नगरप्रमुख गुरुङले बताउनुभयो । 

वि.सं. २०७२ को भूकम्पले यहाँका घरहरु भत्किएको थियो । पछि पुनः निर्माण भएपछि वि.सं २०७५ फागुनदेखि ११ घरबाट घरबास सुरु भएकोमा अहिले गाउँमा रहेको १७ घरमा नै  घरवास सञ्चालन भइरहेको छ ।  

राइनासकोटबाट माछापुच्छ्रे, बौद्ध, अन्नपूर्ण,  मनास्लु, गणेश हिमालसहित १८ वटा हिमशृङ्खला देख्न सकिन्छ । नेपाल एकीकरणको सुरुका विन्दुका साथै प्राकृतिक रूपमा अलौकिक दृश्यले भरिपूर्ण ठाउँ र विश्वकै अग्लो योग स्तम्भ रहेको  छ ।  साथै यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, चेपे र मस्र्याङ्दी नदी किनारका फाँटका साथै नेपालका बाइसे–चौबिसे राजाको पालामा निर्मित ऐतिहासिक राइनासकोट किल्ला, कालिका मन्दिर, थानीमाई मन्दिर, कोटेश्वर महादेव मन्दिर, वीरभक्ति थापाको शालिक लगायतका ऐतिहासिकस्थल रहेको नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । 

बाइसे चौबीसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास रहेको छ । राइनासकोटलाई भिटोफ नेपालले सन् २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो ।