चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ८ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार सोमबार पाथीभरा दर्शनमा आएका पाँचथर, हिलिहाङ गाउँपालिका–२ बस्ने हरि श्रेष्ठका छोरा सोहन श्रेष्ठको मृत्यु भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आफ्ना अभिभावक र आफन्तसँग आएका अढाइ वर्षीय बालक सोहन पाथीभरा दर्शन गरेर फर्कने क्रममा बिरामी भएका थिए ।
पाथीभरा दर्शन गरी फर्कदै गर्दा बाटोमै बिरामी भएका बालकलाई दिउँसो ३ बजेतिर उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको थियो ।
उपचारका लागि जिल्ला अस्पतालमा पुर्याइएका बालकलाई करिव ३:२० बजे चिकित्सकले मृत घोषणा गरेको प्रनाउ गौतमले जानकारी दिनुभयो ।
उहाँकाअनुसार मृतक बालक यसअघि निमनियाका कारण विरामी भएको बुझिएको छ । बालकको शव भने अहिले जिल्ला अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।