• ९ चैत २०८२, सोमबार

चलचित्र निर्माणमा एआईको प्रयोगबारे कार्यशाला

blog

काठमाडौँ, चैत ९ गते । नेपाली चलचित्र क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले काठमाडौँमा ‘सिनेम्याटिक एआईः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुई दिने कार्यशाला सुरु भएको छ । 

चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलायन्स (नाइफा) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा दुई सयभन्दा बढी चलचित्रकर्मीहरूको सहभागिता रहेको छ ।

चावहिलस्थित चलचित्र विकास बोर्डको प्रेक्षालयमा सञ्चालन भइरहेको कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले एआईले चलचित्र क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको बताउनुभयो । 

उहाँले एआईको प्रयोगसँगै मानवीय सिर्जनशीलताको भूमिका अझ महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले फिल्म क्षेत्रमा आबद्ध सबैले कम्तीमा आधारभूत एआई ज्ञान हासिल गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रविधिसँग अद्यावधिक नहुनेहरू भविष्यमा पछि पर्न सक्ने उल्लेख गर्नुभयो । 

त्यसैगरी, नाइफाका अध्यक्ष करूण थापाले एआईले फिल्म निर्माणलाई सर्वसुलभ बनाएको बताउनुभयो । उहाँका अनुसार पहिले फिल्म बनाउन ठूलो बजेट, उपकरण र जनशक्ति आवश्यक पर्ने भए पनि अहिले आइडिया र इन्टरनेटको सहायताले कोठामै बसेर पनि चलचित्र निर्माण सम्भव भएको उल्लेख गर्नुभयो । 

कार्यशालामा सहभागीहरूलाई आइडियाबाट स्क्रिप्ट, स्क्रिप्टबाट इमेज, इमेजबाट भिडियो र अन्ततः पूर्ण चलचित्र तयार पार्ने प्रक्रियाबारे अभ्यास गराइएको छ । साथै साउन्ड डिजाइन, सम्पादन, कलर करेक्सन तथा भिएफएक्समा एआईको प्रयोगबारे पनि जानकारी दिइएको छ । कार्यक्रममा नाइफाका तर्फबाट करुण थापा, शिव पुरी, मौसम पुरी र अजय शर्माले दुई दिनसम्म प्रशिक्षण दिनुहुनेछ ।