• ९ चैत २०८२, सोमबार

अनधिकृत रूपमा डम्प गरेर राखिएका ५५ टिप ढुङ्गा बरामद

blog

ज्ञानु पंगेनी

मध्यविन्दु, चैत ९ गते । नवलपुरको मध्यविन्दु नगरपालिकाले अनधिकृत रूपमा डम्प गरेर राखिएका करिब ५५ टिप ट्याक्टर बराबरको ढुङ्गा सोमबार बरामद गरेको छ ।

सार्वजनिक सम्पत्ति अन्तर्गत नदी तथा खोला संरक्षणका लागि अवैध ढुङ्गा डम्पिङ विरुद्ध अनुगमन तथा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको पालिकाले मध्यविन्दु नगरपालिका–११ स्थित आरुङ्गखोलाको किनारमा अनधिकृत रूपमा डम्प गरेर राखिएको ढुङ्गा बरामद गरेको हो । नगर उपप्रमुख पूर्णकला चौधरीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा अनधिकृत रूपमा डम्प गरेर राखिएको ढुङ्गा फेला पारिएको हो ।

बरामद गरिएको ढुङ्गा हाल मध्यविन्दु–११ वडा कार्यालय नजिकैको सुरक्षित स्थानमा राखिएको नगर उपप्रमुख चौधरीले जानकारी दिनुभयो । अवैध कार्यमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गरिने उपप्रमुख चौधरीले बताउनुभएको छ । 

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, राजस्व शाखा प्रमुख प्रेम सारु, वडाअध्यक्ष महेश्वर भुषाल, इन्जिनियर माधव पोख्रेल, सब–इन्जिनियर जाहिद रेजा र नगरप्रहरीको सहभागिता रहेको थियो ।

नगरपालिकाले नदी तथा खोला क्षेत्रमा अवैध उत्खनन, सङ्कलन तथा डम्पिङ जस्ता गतिविधि नियन्त्रण गर्न विगतदेखि नै अनुगमन गर्ने र एक्सनमा उत्रदै आएको छ ।