लेखनाथ समाचारदाता
लेखनाथ, चैत ९ गते । विकासानन्द फाउन्डेसन विश्व परिवार गण्डकी प्रदेशको आयोजनामा भएको मनोक्रान्ति शान्ति पदयात्रा जारी छ । एक हप्ते पदयात्रा पोखराबाट सुरु भई एक सय २५ किमी यात्रा गरी गोरखामा पुगी सकिनेछ ।
विश्वमा बढ्दो तनाव, असन्तुलन र विभाजनको अवस्था शान्ति, सद्भाव र आध्यात्मिक चेतना जागृत गराउने उद्देश्यले आइतबारबाट पदयात्रा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै भएको पदयात्रामा ३२ जना सहभागी छन् । आइतबार पदयात्रीले पोखरा महानगरपालिका वडा नम्बर २३ को बराङ आश्रमबाट यात्रा सुरु गरी लेखनाथ पुगेका थिए।
सोमबार लेखनाथबाट सुरु भएको पदयात्रा तनहुँको शुक्लागण्डकी नगरपालिकाको च्यावन धाम पुगेको फाउन्डेसनका सचिव प्रकाश पन्तले बताउनुभयो । “पदयात्रालाई सर्वसाधारणको उत्साहपूर्ण साथ मिलेको छ,” उहाँले भन्नुभयो, “चैत १३ गते गोरखाको गोरखकाली मन्दिरमा विशेष प्रार्थना ध्यान, ज्ञान, योगसहित यो समापन हुनेछ ।”
मनोक्रन्तिका अगुवा डा योगी विकासानन्द मनको क्रान्तिबिना बाहिरी क्रान्ति अधुरो हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनको शान्तिबिना बाह्य शान्ति सम्भव हुँदैन । यही सन्देश दिन पदयात्रा गरेका हौँ।” पदयात्राले व्यक्तिको अन्तरात्मामा शान्तिको भाव बढाउँदै समाजमा सकारात्मक ऊर्जा, नैतिकता र मानवीय एकता जागृत गराउने उहाँको भनाइ छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव घनश्याम पौडेल स्वस्थ जीवनशैली अपनाउनका लागि योग, ध्यान र प्रणायाम आवश्यक हुने बताउनुहुन्छ ।