काठमाडौं, चैत ९ गते । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो । अब नेपाली मूलका विदेशी नागरिकलाई पनि अध्यागमनमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
अध्यागमन विभागको यही चैत ८ गतेको निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको आगमन र प्रस्थान तर्फ नेपाली मूलका विदेशी नागरिक का लागि छुट्टै लाईन र अध्यागमन डेस्कको व्यवस्था गरिएको अध्यागमन कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 