लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत ९ गते । विश्व जल दिवसको अवसरमा नेपालगञ्जमा विचार–विमर्श भएको छ । जलवायु परिवर्तन र पानीको समस्या देखिँदै गएको अवस्थामा यसको कारण, परिणाम र समाधानबारे विचार–विमर्श भएको हो ।
ईश्वरी युनाइटेडको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका, सिड्स र एसिया फाउन्डेसन लगायत संघ संस्थाको सहकार्यमा कार्यक्रम गरिएको हो। नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले नेपालगञ्जमा खानेपानीको समस्या देखिन थालेको उल्लेख गर्दै राप्ती नदीको पानी लिफ्टिङ प्रविधिमार्फत शहरसम्म ल्याउने योजना अन्तर्गत १६ किलोमिटरमध्ये १३ किलोमिटर क्षेत्रमा पाइपलाइन विस्तार भइसकेको जानकारी दिनुभयो । उहाँले अब नदीको पानीलाई खानयोग्य बनाउन आवश्यक ट्रिटमेन्ट प्लान्ट जडानको काम बाँकी रहेको र आगामी डेढदेखि दुई वर्षभित्र उक्त पानी नेपालगञ्जवासीको पहुँचमा पुग्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा जलवायु विज्ञ डा. गंगादत्त नेपालले नेपालको खानेपानीको वर्तमान अवस्था, बढ्दो तापक्रम, हिमाल पग्लिँदै गएको अवस्था लगायत विषयमा प्रस्तुति दिनुभएको थियो । पत्रकार झलक गैरेले सञ्चालन गरेको पहिलोसत्रमा नेपालगञ्ज उप–महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी, जलवायु विज्ञ डा. गंगादत्त नेपाल, खजुरा गाउँपालिकाकी उपप्रमुख मञ्जु मल्ल तथा महिला उद्यमीसँग बाँकेकी अध्यक्ष रेवती सिंह वक्ताका रुपमा सहभागी हुनुहन्थ्यो ।
उक्त सत्रमा सहभागीहरूले स्वच्छ पानीको नियमित परीक्षण आवश्यक रहेको, सेफ्टी ट्याङ्की र खानेपानीको संरचना एउटै स्थानमा जडान गर्दा पानीको गुणस्तरमा जोखिम हुने, नेपालगञ्जमा अझै फोहोर व्यवस्थापन हुन नसकेको लगायतका विषयमा चिन्ता व्यक्त गरेका थिए । पत्रकार बिमला चौधरीले सहजीकरण गर्नुभएको दोस्रोसत्रमा जलविज्ञ रमेश गौतम, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी नमुना र बाँके राष्ट्रिय निकुञ्जका असिस्टेन्ट वार्डन मन्दिप पंगेनी वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । उक्त सत्रमा भूमिगत जलस्रोत संरक्षणका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।