• १० चैत २०८२, मङ्गलबार

पोखराको लेकसाइडमा वाडा अटो सो, २० स्टेलमा ब्रान्डेड गाडी

blog

कास्की समाचारदाता

कास्की, चैत १० गते ।पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा दोस्रो वाडा अटो सो–२०२६ आयोजना गरिने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसाेसिएसन (वाडा ) ले यही ११ देखि १५ चैतसम्म उक्त सो गर्न लागेको हो ।

वाराहीघाटस्थित चौरमा हुने अटो सोमा २० स्टलहरू रहने छन् । १६ ब्रान्डका चारपाङ्ग्रे, छ वटा ब्रान्डका लाइट कमर्सियल, १० वटा ब्रान्डका दुई पाङ्ग्रे, एउटा हेभी कमर्सियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एसेसरिजका स्टल रहने जनाइएको छ ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसाेसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार अटो सो एम्पेयर, एथर, अक्वेल, बिवाइडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुन्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल इसुजु, सुजीकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायतका प्रख्यात ब्रान्डका सवारीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् ।

अटो सो अवसरमा कम्पनीले विशेष छुट दिने जनाइएको छ । अटो सोमा प्रत्येक कम्पनीले ५० हजारदेखि एक लाखसम्म छुट दिने जनाइएको छ ।

त्यसबाहेक अन्य एसेसरिज, बिमामा पनि छुट दिइने छ । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ४५ हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।

टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ भने खल्ती एपमार्फत टिकट खरिद गर्दा दैनिक पहिलो एक सय साधारण टिकटमा ५० प्रतिशत र पहिलो एक सय विद्यार्थी टिकटमा एक सय प्रतिशत क्यासब्याकको सुविधा प्रदान गरिने कोइरालाले जानकारी दिनुभयो ।

अटो व्यवसायीलाई एउटै छानामुनि भेला गराई सहज व्यावसायिक वातावरण निर्माण गर्दै आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले अटो सो आयोजना गरिएको वाडाका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो ।