• १० चैत २०८२, मङ्गलबार

उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित

blog

सम्मानित स्वास्थ्यकर्मी

अमरराज नहर्की

तनहुँ, चैत १० गते । भिमाद नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको छ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट सम्पादित स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षाका क्रममा कार्यसम्पादनमा अब्बल देखिएकाहरूलाई पुरस्कृत गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दधिराज सुवेदीले सीमित स्रोत र साधनका बाबजुद नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरूको कार्य प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र सेवालाई अझै जनमुखी बनाउन नगरपालिकाले लगानी र प्रोत्साहनका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उत्कृष्ट कार्य गर्नेलाई गरिएको यो सम्मानले अन्य कर्मचारीमा समेत ऊर्जा र सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गराउने विश्वास उहाँको थियो।सो अवसरमा उपप्रमुख शारदा खनालले स्वास्थ्य सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो।

उहाँले भन्नुभयो,“नगरका दुर्गम बस्तीसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनु हाम्रो प्राथमिकता हो। जनप्रतिनिधि र कर्मचारीबिचको समन्वयले मात्रै स्वास्थ्य सूचकहरूमा सुधार ल्याउन सम्भव छ।”

त्यस्तै, उपसचिव सन्दिप पौडेलले प्रशासनिक तवरबाट स्वास्थ्यकर्मीहरूको वृत्तिविकास र कार्यसम्पादनमा आइपर्ने कानुनी तथा व्यवस्थापकीय अड्चन फुकाउन नगरपालिका सदैव तत्पर रहने धारणा राख्नुभयो। 

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारी र तथ्याङ्क अधिकृत टीकाराम शर्माले प्राप्त तथ्याङ्कका आधारमा आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिनुभयो।

आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थाका रूपमा माझकोट स्वास्थ्य चौकी (भिमाद–४) लाई सम्मान गरिएको छ।

यस्तै, स्वास्थ्यकर्मीतर्फ भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.सुदन अधिकारी, सिम्ले सामुदायिक स्वास्थ्य एकाइका अ.हे.व. अनिल ज्ञवाली, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रकी अ.न.मी. इनिसरा गाहा, तुरतुरे सामुदायिक स्वास्थ्य एकाइकी अ.न.मी. कल्पना थापा र भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय सहयोगी निमबहादुर दरै सम्मानित हुनुभएको छ।

समीक्षाको निष्कर्ष प्रस्तुत गर्दै स्वास्थ्य शाखा प्रमुख सुनिता धरेलले नगरपालिकाका स्वास्थ्य सूचकहरू सन्तोषजनक रहेको र देखिएका चुनौतीलाई कार्ययोजना बनाएरै समाधान गरिने बताउनुभयो। 

लेखा अधिकृत नारायण पौडेलले स्वास्थ्य क्षेत्रको बजेट कार्यान्वयन र पारदर्शितामा विशेष ध्यान दिइएको जानकारी दिनुभयो।