• १० चैत २०८२, मङ्गलबार

१७१ किलो गाँजासहित एक पक्राउ

blog

बरामद भएको गाँजा । तस्बिर :अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, चैत १० गते । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मङ्गलबार बिहान मनहरी गाउँपालिका-९ क्षेत्रबाट राक्सिराङ गाउँपालिका-४, सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई १७१ किलो २१ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मनहरी-९ स्थित हरियाली सामुदायिक जङ्गलको भित्री बाटोमा राक्सिराङ गाउँपालिका-१ भाबरबाट मनहरी-९ खरङ्गा हुँदै पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको हात्ती गाडीलाई शङ्का लागि जाँच गर्ने क्रममा लागुऔषध गाँजा फेला परेको थियो ।

गाडीको पछाडिपट्टि लोड गरी ल्याइएको २७ प्याकेट गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।