रामकृष्ण बोहरा
बागलुङ, चैत १० गते । बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । चैत २३ देखि २८ गतेसम्म चल्ने जेसीज कप फुटबलको चौथो संस्करण गण्डकी प्रदेश स्तरीय हुने छ ।
युवाहरूको नेतृत्व र क्षमता विकासमा सक्रिय जेसीजले प्रतियोगिताको तयारी गरेको बागलुङ जेसीज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष सुभम राजभण्डारीले जानकारी दिनुभयो । ‘‘प्रतियोगिताको प्रस्ताव तयार गरी आर्थिक सङ्कलनमा जुटेका छौं’’ खेलका संयोजक समेत रहनुभएका राजभण्डारीले भन्नुभयो ।
प्रतियोगिताको विजेताले २ लाख रुपियाँ पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले टोलीलाई १ लाख पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक राजभण्डारीले जानकारी दिनुभयो ।
आयोजकका अनुसार, फेयर प्ले टिम, उत्कृष्ट खेलाडी, फरवार्ड, मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई समेत विधागत रूपमा पुरस्कृत गरिने छ ।
प्रतियोतिाका लागि १२ लाख रुपियाँ खर्च हुने अनुमान गरेको जेसीजले विभिन्न प्रायोजक, व्यक्तिगत तथा फर्म, स्थानीय तहबाट सहयोग सङ्कलन गर्ने भएको छ । प्रतियोगिताबाट हुने मुनाफा सामाजिक कार्यमा खर्च गरिने जनाइएको छ ।