न्युयोर्क, चैत १० गते । इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनी र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा इजरायलले लगभग दैनिकजसो आक्रमण गर्ने गरेकाले निर्दोश प्यालेस्टाइनीको मृत्यु हुने, घाइते हुने र सम्पत्तिको क्षतिको साथै विस्थापन सामना गर्नु परेको जनाउनु भएको छ ।
प्रवक्ताले महासचिवको भनाइलाई दोहोर्याउदै यस क्षेत्रमा रहेका इजरायली बस्ती र तिनीहरूसँग सम्बन्धित पूर्वाधारको कुनै कानुनी वैधता नभएको र यीनीहरु संयुक्त राष्ट्रका प्रस्तावसहित अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको खिलाप यस क्षेत्रमा स्थापीत भएको उल्लेख गर्नु भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले वेस्ट ब्याङ्कको चिन्ताजनक अवस्थालाई तत्काल कम गरी यस क्षेत्रका नागरिक र उनीहरूको सम्पत्तिमा हुने आक्रमणको अन्त्य गर्न सम्बन्धित निकायलाई आह्वान गर्नु भएको छ । रासस/क्युएनए