• १० चैत २०८२, मङ्गलबार

बाँकेमा स्ट्रबेरी खेतीको आकर्षण बढ्दै, किसान आर्थिक लाभमा उत्साहित

blog

बैजनाथ–१ का किसानले गरेको स्ट्रबेरी खेती। तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत १० गते ।
करिब तीन महिनामै उत्पादन हुने र बजार मूल्य राम्रो पाउने भएकाले बाँकेका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका आसपासका धेरै किसानहरूले स्ट्रबेरी खेती सुरु गरेका छन्।

बैजनाथ गाउँपालिका–१, च्यामाका सर्पराज बस्नेतले दुई वर्षअघि पाँच कट्ठा जमिनमा करिब ९ हजार स्ट्रबेरी बिरुवा रोपेर खेती सुरु गर्नुभयो। करिब ६ लाख रुपियाँ लगानीमा उहाँले २५ क्विन्टल उत्पादन गरी नौ लाख रुपियाँ आम्दानी गर्नुभयो। छोटो समयमै फल तयार हुने र बजारमा माग उच्च रहेको कारण यसतर्फ आकर्षित हुने किसानहरू बढ्दै गएको बस्नेतले बताउनुभयो।

यस वर्ष उहाँले आफ्नै घरमा करिब ४ हजार बिरुवा उत्पादन गर्नुभएको छ। करिब ३ लाख रुपियाँ लगानीमा उत्पादन गरिएको सो बिरुवाबाट २० क्विन्टल स्ट्रबेरी उत्पादन गरी १३ लाख रुपियाँसम्म आम्दानी हुने बस्नेतको अनुमान छ।

उहाँकी श्रीमती शारदा बस्नेतका अनुसार यही व्यवसायबाट पाँच जनाको परिवारको गुजारा चलिरहेको छ। स्ट्रबेरी खेतीले पहिलेभन्दा परिवारको आर्थिक अवस्था सुधार गरेको र व्यवसायबाट उनीहरू सन्तुष्ट रहेको बस्नेतले बताउनुभयो।

केही वर्षअघि जिल्लाका केही किसानले स्ट्रबेरी खेतीबारे अनभिज्ञ भए पनि सफलता पाएपछि अन्य किसानहरूमा पनि आकर्षण बढेको छ। सामाजिक सञ्जालमार्फत स्ट्रबेरी उत्पादनको खबर फैलिँदा खेतमै पुगेर फल किन्न र टिकटक बनाउन आउनेको सङ्ख्या पनि बढेको किसानहरूले बताएका छन्।

बाँके राप्ती सोनारीका प्रेम पुन मगरले सामाजिक सञ्जालमार्फत स्ट्रबेरी खेतीबारे जानकारी पाएपछि अर्ग्यानिक फल किन्न खेतमै पुगेको बताउनुभयो। त्यस्तै, कोहलपुरकी निना चन्दले पनि आफ्नै क्षेत्रमा उत्पादन भएको अर्ग्यानिक फल किन्न खेतमै पुगेको जनाउनुभयो।

किसान र उपभोक्ताको बढ्दो आकर्षणसँगै स्ट्रबेरी खेतीले राम्रो सम्भावना देखाए पनि सरकारी सहयोगको अभाव चुनौतीका रूपमा देखिएको छ। उत्पादनदेखि बजार व्यवस्थापनसम्म प्रभावकारी नीति र सहुलियत उपलब्ध गराउन सके युवाको रोजगारी समस्या समाधानमा समेत टेवा पुग्ने कोहलपुर–४ का किसान रमेश थापाले बताउनुभयो। तर पर्याप्त नीति अभावका कारण बाँकेका किसानले सरकारी सहयोग र सहुलियत पाउन नसकेको थापाको भनाइ छ।