अनिल पराजुली
हेटौँडा, चैत १० गते ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ।
इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया लमिना वाईवा भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार घाँस काट्न भन्दै घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्राघारीडाँडा जङ्गलतर्फ गएकी उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।
खोजतलासका क्रममा मङ्गलबार बिहान भिरबाट करिब ३०० मिटर तल लडेको अवस्थामा बालिकाको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।
घटनापछि प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली खटिई घटनास्थलमा पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।