• १० चैत २०८२, मङ्गलबार

पेट्रोकेमिकल कच्चा पदार्थको अभावले बाँकेका उद्योग सङ्कटमा

blog

लक्ष्मी तिमिल्सेना

जमुनाह, चैत १० गते । मध्यपूर्व एसियामा उत्पन्न तनाव चर्किँदै गएपछि बाँकेमा कच्चापदार्थ अभाव भएको छ । जसकारण उत्पादन घट्दै गएको छ भने केही उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् ।

कच्चा सामाग्रीको आयात घटेपछि व्यवसायीहरू मर्कामा परेका छन् ।अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको ४० प्रतिशतले मूल्यवृद्धि भएको छ ।

त्यसले नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ माग अनुसार आपूर्ति हुन सकेको छैन । अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगहरूमा प्रयोग हुने प्लास्टिक ‘दाना’ को अभाव सुरु भएको छ ।

प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा सङ्कट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेलमेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुन लगायतका सामग्री उत्पादनमा पहिलो असर परिरहेको उद्योगीको गुनासो छ ।

मध्यपुर्वमा उत्पन्न भएको तनावका कारण कच्चा सामाग्रीको आयात ठप्प भएपछि यहाँको उद्योग क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका एसोसिएट सदस्य तथा स्टार पोलिपाइपका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिनुभयो ।

उहाँले खासगरी कच्चा पदार्थको अभावका कारण उत्पादनमा ठुलो असर परेको सुनाउनुभयो ।“कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन नै घटिरहेको छ”, उहाँले भन्नुभयो, “युद्ध हुँदैछ भनेर विकसित देशहरूमा पहिले नै थाहा हुँदो रहेछ । अब युद्ध हुँदैछ । अब चाहिँ मालहरू चाहिँ रोक्नुपर्छ, पाउनुहुँदैन भनेर रोकिहाल्यो । माल रोकेको डेढ महिना भइसक्यो ।”

कच्चा सामाग्रीको आयात रोकिएसँगै उत्पादन पनि घटेको उहाँले बताउनुभयो । उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समेत समस्या देखिएको छ । उद्यमी कार्कीका अनुसार न कर्मचारी हटाउन सकिने अवस्था छ न त कर्मचारी पाल्नसक्ने अवस्था नै छ ।

पेट्रोकेमिकलसँग सम्बन्धित कच्चापदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गर्छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योगहरू सङ्कटमा परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ओलीले भन्नुभयो,“पेट्रोकेमिकलसँग सम्बन्धित कच्चापदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादन मात्र होइन, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । यदि अन्तर्राष्ट्रिय परिस्थिति यस्तै रहिरह्यो भने यसको असर अझ गहिरिँदै जाने उद्योगीहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।”

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्का भने कच्चा सामाग्रीको आपूर्तिको अवस्था सामान्य रहेको बताउनुहुन्छ ।

तेल र ग्यास जस्ता कुराहरूको समेत नियमित रूपमा आयात भइरहेको बताउँदै सुचना अधिकारी खड्काले अन्य औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा सामाग्रीको आपुर्ति पनि सहज र निरन्तर भइरहेको बताउनुभयो ।

बाँके देशकै मुख्य औद्योगिक क्षेत्र मध्येको एक हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ ।

 यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । दुई वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् ।