• १० चैत २०८२, मङ्गलबार

एसइईमा पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुँदै

blog

शिक्षा विकास तथा समन्वय एकाइ धादिङ ।

अस्मिता पोखरेल । 

धादिङबेँसी, चैत्र १० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा धादिङ जिल्लाबाट पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ धादिङका प्रमुख भूमिलाल सुवेदीका अनुसार नियमिततर्फ चार हजार २४६ जना र ग्रेडवृद्धि तर्फ आठ सय जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। सुवेदीका अनुसार समग्र विद्यार्थी सहभागिता सन्तोषजनक देखिए पनि गत वर्षको तुलनामा नियमिततर्फ २६३ जना विद्यार्थी घटेका छन् ।

परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै उहाँले उत्तरपुस्तिका लगायत आवश्यक सामग्री सम्बन्धित केन्द्रहरूमा पुर्‍याइसकिएको जानकारी दिनुभयो ।“परीक्षालाई शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिमार्फत आवश्यक सबै प्रक्रिया पूरा गरिसकेका छौं,” उहाँले भन्नुभयो ।

उहाँले अभिभावक र विद्यार्थीलाई कुनै डरत्रास बिना आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको छ । साथै केन्द्राध्यक्ष तथा सम्बन्धित निकायले विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन आवश्यक सबै प्रबन्ध मिलाइने बताउनुभयो ।

गत वर्षमा भन्दा यस वर्ष परीक्षा अझ व्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरिने लक्ष्य रहेको सुवेदीले बताउनुभयो । विद्यार्थी उत्साहित र अनुशासित ढङ्गले परीक्षामा सहभागी हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ । 

परीक्षामा सामुदायिक तर्फ १४३ र संस्थागत १८ विद्यालय गरि १६१ विद्यालय सहभागी हुने छन् । गत वर्ष धादिङका सामुदायिक १३४, संस्थागत १८ र निजी २ वटा विद्यालयबाट विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

त्यतिबेला नियमिततर्फ चार हजार ३४७ जना, प्राविधिकतर्फ १६४ जना, ग्रेड वृद्धितर्फ ९३२ जना र खुलातर्फ ३२ जना गरी जम्मा पाँच हजार ४७५ जना विद्यार्थी सहभागी भएका थिए ।