• १० चैत २०८२, मङ्गलबार

चैते दसैंमा खैरबाङ पुग्न नगर बसमा ५० प्रतिशत भाडा छुट

blog

शारदा नगरपालिकाले सञ्चालन गरेको नगर बस। तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, चैत १० गते ।
देशकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थल शारदा नगरपालिका वडा नम्बर ११ स्थित खैरबाङ भुवनेश्वरी भगवती मन्दिरमा चैते दसैंको अवसरमा भक्तजनको भीड बढ्ने अनुमान गरिएको छ। यसलाई मध्यनजर गर्दै स्थानीय शारदा नगरपालिकाले यातायात सेवामा सुविधा प्रदान गर्ने निर्णय गरेको छ।

नगरपालिकाले जनाएको छ कि नगर बस सेवामार्फत श्रीनगरबाट खैरबाङ मन्दिरसम्मको यात्रामा ५० प्रतिशत सहुलियत उपलब्ध गराइनेछ। चैत १० देखि १२ गतेसम्म मन्दिरमा चैते दसैंको मुख्य अवधिभर बिहान ६ बजेबाट बस सेवा सञ्चालन हुने छ। यसअघि पनि बडा दसैंमा यस्तै सुविधा प्रदान गरिएको थियो। नगर प्रवक्ता तथा शारदा–१२ का वडा अध्यक्ष राजेशकुमार शर्माले मन्दिरसम्म पुग्ने भाडा एक सय रुपियाँ रहेकोमा अब ५० रुपियाँमा यात्रा गर्न सकिने जानकारी दिनुभयो।

यस सुविधाबाट सल्यानबाहिर वा टाढाबाट आउने भक्तजन र दर्शनार्थीलाई सहज र सस्तो यात्रा उपलब्ध हुने अपेक्षा गरिएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार खैरबाङ भगवती मन्दिरमा बर्सेनि करिब दुई लाख भक्तजनले दर्शन गर्ने गर्दछन्। धार्मिक शास्त्रअनुसार नेपालका ५१ शक्तिपीठमध्ये एक मानिने यो मन्दिर सल्यान सदरमुकाम खलङ्गाबाट करिब १६ किलोमिटर पूर्व–दक्षिणमा अवस्थित छ। धार्मिक विश्वासअनुसार सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको बायाँ स्तन पतन भएको मानिन्छ।

मन्दिरमा दर्शन गर्न अर्घाखाँची, गुल्मी, बागलुङ, दाङ, रुकुम, रोल्पा, प्यूठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर लगायत देशका विभिन्न भाग र भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गरेका छन्। भक्तजनको विश्वास अनुसार मन्दिरमा पुग्दा क्रोध, लोभ, काम र ईर्ष्या जस्ता दोषबाट मुक्ति प्राप्त हुने बताइन्छ।