• १० चैत २०८२, मङ्गलबार

पाल्पामा घटेन क्षयरोगीको सङ्ख्या

blog

विश्व क्षयरोग दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, चैत १० गते ।
पाल्पामा क्षयरोगीको सङ्ख्या घट्न सकेको छैन । जिल्लाको विभिन्न स्थानमा हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

यस वर्ष हालसम्म १६७ जनामा क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको दस पालिकामध्ये तानसेनमा सबैभन्दा धेरै क्षयरोगी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार रामपुरमा २०, तिनाउमा १३, रैनादेवी छहरामा १५, निस्दीमा १८, रिव्दीकोटमा ११ जना मानिसमा क्षयरोगको सङ्क्रमण देखिएको छ । यस्तै रम्भामा ९, पूर्वखोलामा १९, बगनासकालीमा १७ र माथागढीमा १० जना क्षयरोगी देखिएको कार्यालयका निमिक्त प्रमुख पोखरेलले बताउनुभयो ।

यो वर्ष हालसम्म नौँ जना क्षयरोगीको मृत्यु भएको छ । गत वर्ष जिल्लाभर २५ जना क्षयरोगीको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८१/२०८२ मा चार हजार ८३४ जनामा जाँच गर्दा ३२२ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । क्षयरोग न्युनीकरण गर्नका लागि पाल्पाका दस वटै स्थानीय तहले खोज पड्ताल र निगरानीसहित उपचारका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

क्षयरोगी पुष्टि भएपछि उनीहरुलाई नियमित निगरानीमा उपचार गरिएको स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । पाल्पामा विगतका वर्षदेखि नै जन्मेदेखि ४ वर्षमुनिका बालबालिकामा पनि क्षयरोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

यस वर्ष चार वर्षमुनिका तीन जना बालबालिकामा क्षयरोग पुष्टि भएको कार्यालयले जनाएको छ । गत वर्ष २०८१/०८२ मा पाँच जना बालबालिकामा क्षयरोग पुष्टि भएको थियो । पाल्पामा क्षयरोगी देखिएकामध्ये ९० प्रतिशत बढी उपचारबाट निको भएका छन् । २ प्रतिशत क्षयरोगीले नियमित औषधी सेवन नगर्दा रोग निको हुन सकेको छैन ।