प्रदिप पन्त
बागलुङ, चैत १० गते । बसाइसराइ र खुला क्षेत्रको कारण बागलुङमा क्षयरोगका बिरामी बर्सेनि बढ्दै गएका छन । बागलुङमा यस आ.व.०८२-८३ को फागुन महिना सम्ममा १४४ जना क्षयरोगका बिरामी फेला परेको हुन ।
“हो हामी क्षयरोग अन्त गछौँ, राष्ट्रिय अभियान, हामो योगदान” भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बागलुङ क्षयरोगका बिरामी बढ्दै गएको जानकारी दिइएको हो ।
प्रत्येक वर्ष क्षयरोगका बिरामी फेला पर्ने क्रम भइरहेको र यसलाई नियन्त्रणका लागि अभियान समेत सञ्चालन गरिँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताउनुभयो ।
गत आ.व.मा जिल्लामा २६४ जना क्षयरोगका बिरामी फेला परेकोमा यस आ.व.को फागुन सम्ममा थप १४४ जना पुष्टि भएको उहाँले बताउनुभयो । क्षयरोगका बिरामी जिल्लामा भेटिने क्रम भएको र नियमित औषधी सेवन नगर्दा समस्या बढ्दै गएको शर्माले बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी बडिगाड गाउँपालिकामा ३८ जना, ढोरपाटन नगरपालिकामा ३२ जना, गल्कोटमा २७, बागलुङ नगरपालिकामा १५, निखी खोला गाउँपालिकामा १३ जना बिरामी फेला परी औषधी सेवन गर्दै आएका छन ।
त्यसैगरी, जैमिनी नगरपालिका, काठे खोला गाउँपालिकामा पाँच पाँच जना, ताराखोला र तमान खोलामा चार चार जना र बरेङ गाउँपालिकामा एक जना क्षयरोगका बिरामी साउनदेखि फागुन सम्ममा फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो ।
रोग नियन्त्रणका लागि बागलुङका स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा परिक्षण र औषधी प्रदान गरिँदै आएको घिमिरेले बताउनुभयो । बागलुङमा बडिगाड, गल्कोट, काठे खोला र बागलुङ नगरपालिकामा क्षयरोग मुक्त अभियान समेत सुरु भएको छ । सबै नागरिकलाई रोगबाट बच्न जनचेतना जनाउन र उपचारको लागि काम भइरहेको घिमिरेले बताउनुभयो ।
आ.व.०८२/८३ को फागुन सम्ममा जिल्लामा १८ जनाको क्षयरोगका कारण मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।