• १० चैत २०८२, मङ्गलबार

भूकम्पपीडित आवास नपाएपछि आक्रोशित

blog

राष्ट्रिय विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरू। तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत
जाजरकोट, चैत १० गते ।
जाजरकोट भूकम्पको तीन वर्ष नबित्दै पनि अझै पीडितहरू सुरक्षित आवासबाट वञ्चित रहँदा उनीहरू आक्रोसीत बनेका छन्। राष्ट्रिय विपद जोखीम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला स्तरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पीडितहरूले ठूला कार्यक्रम मात्र नभई तत्काल घर पुनर्निर्माणको माग गरेका थिए।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले भूकम्प पीडितका लागि हालसम्म भएका पुनर्निर्माण प्रयासहरूको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जिल्लाबाट माग आएपछि एक हप्ताभित्रै रकम पठाउन तयार छौं। सबै काम सरकारी नियमअनुसार मात्र गरिने भएकाले कार्यविधि उल्लङ्घन गरेर अघि बढ्न सकिन्न।”

जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले स्थानीय तहका प्रमुखहरूको पर्याप्त सहभागिता नभएको प्रति दुःख व्यक्त गर्नुभयो। प्राधिकरणसँग प्राविधिक जनशक्तिको अभाव रहेकाले आवश्यक व्यवस्था गर्नुपर्ने प्रजिअको भनाइ थियो। उहाँले लाभग्राहीको विवरण सही ढंगले नपठाएपछि रकम निकासा हुन नसकेको गुनासो राख्नुभयो।

कार्यक्रममा भेरी–१ का मनोज विकले भन्नुभयो, “हामी तीन वर्षसम्म टहरामै बस्दै आएका छौं, सरकारले हेरेको छैन। कार्यक्रम मात्र हुँदैन, घर पुनर्निर्माण तुरुन्त सुरु गर्नुपर्छ।” नलगाड नगरपालिकाका प्रमुख डम्वरबहादुर रावतले पनि लामो समय छलफलमै मात्र गएका कारण काम ढिलाइ भएको र अब सबैको सहकार्यमा कार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले पनि भने, “सधैं बैठक र गोष्ठीमा मात्र नअल्झी, तत्काल काममा लाग्नुपर्छ। मृतक परिवारका घरहरूदेखि थालनी गरिनुपर्छ।”

कार्यक्रममा प्राधिकरणका उपसचिव सुरेश सुनारले तीन तहको सरकारको समन्वय र सहकार्यबिना नागरिकका आवास निर्माण असम्भव भएकाले सबै एक जुट भएर काम अघि बढाउनुपर्ने बताउनुभयो।