• ११ चैत २०८२, बुधबार

निफमा पाँच रुसी चलचित्र

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ११ गते । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पाँच रुसी चलचित्र प्रदर्शन हुने भएका छन् । ‘रुसी फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले चार रुसी चलचित्र प्रदर्शन गर्न लागेको अध्यक्ष केपी पाठकले बताउनुभयो । 

निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रुसी हाउसमा ‘अगस्ट’, ‘दी च्यालेन्ज’, ‘दी डिनो फ्यामिली’, र  ‘अल रङ गर्ल’ प्रदर्शन हुने अध्यक्ष पाठकले जानकारी दिनुभयो । साथै अर्को एक रुसी चलचित्र ‘दी पोएट’ पनि सहभागी भएको छ । फेलिक्स उमारोभ निर्देशित फिल्म ‘दी पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुस्किनको जीवनीमा आधारित छ । चलचित्र चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा प्रदर्शन हुने छ ।  

नेपाल र रुसबिच सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा ‘रुसी चलचित्र उत्सव’ गर्न लागिएको उहाँको भनाइ छ । नेपाल र रुसबिच दौत्य सम्बन्ध स्थापित भएको ७० औँ वर्ष पूरा भएको अवसर पारेर निफमा रुसी चलचित्र प्रदर्शन गर्ने निर्णय भएको पाठकले बताउनुभयो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत १९ देखि २३ सम्म आयोजना हुँदै छ ।