• ११ चैत २०८२, बुधबार

लुम्बिनी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता : पुरुषतर्फ रोल्पा, महिलातर्फ बर्दिया प्रथम

blog

लुम्बिनी प्रदेशस्तरीय कबड्डी प्रतियोगितामा पुरुषतर्फ प्रथम रोल्पा र महिलातर्फ प्रथम बर्दिया जिल्लाका खेलाडी । तस्बिरः लीलाधर वली

लीलाधर वली
घोराही, चैत ११ गते ।
लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता २०८२ मा पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दिया जिल्ला प्रथम भएका छन् ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा दाङको घोराहीमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा नवलपरासीलाई ४२–३६ अंकले पराजित गर्दै रोल्पा पुरुषतर्फ प्रथम बनेको हो । विजेता रोल्पाले नगद ८० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ उपविजेता बनेको नवलपरासीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गरेका दाङ र रुपन्देहीका टोलीले समान ३०–३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
महिलातर्फ बर्दिया जिल्ला प्रथम हुँदै नगद ८० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । बर्दियाले नवलपरासीलाई ३२–२० अंकले पराजित गर्दै उपाधि जितेको हो ।

महिलातर्फ उपविजेता नवलपरासीले नगद ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गरेका गुल्मी र बाँकेका टोलीले समान ३०–३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य कैलाश रोका मगरका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विधागत रूपमा पनि पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतम, सदस्यहरू कैलाश रोका मगर, महेश काउचा मगर, दाङ जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख राकेश परियार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पुरस्कार वितरण गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका खेलाडी सहभागी भएको प्रतियोगिता चैत ८, ९ र १० गते गरी तीन दिन सञ्चालन भएको थियो ।