• ११ चैत २०८२, बुधबार

ग्यासको अभाव कायमै

blog

नवलपरासी समाचारदाता

कावासोती, चैत ११ गते । खाना पकाउने ग्यासको कृत्रिम अभाव बढ्न थालेपछि स्थानीय प्रशासनले बजार अनुगमन गर्न थालेको छ । अनुगमनपश्चात् अहिले जिल्लामा आधा सिलिन्डर ग्यास वितरण हुन थालेका छन् । आधा सिलिन्डर वितरण हुने गरे पनि ग्यासको अभाव कायमै रहेको छ, माग अनुसार सिलिन्डरको आपूर्ति हुन सकिरहेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा अनुगमन गर्न खटिएको टोलीले धेरै ठाउँबाट लुकाएर राखेका ग्यास समात्न थालेपछि आधा सिलिन्डर ग्यास पाउन अलि सहज भएको छ । यस्तो बेलामा पनि बजारमा कृत्रिम अभाव देखाएर ग्यासको मूल्य बढी लिने काम भइरहेको गुनासो कावासोती नगरपालिका–१ का अमरसिंह विकले बताउनुभयो । 

पछिल्ला दिनमा आधा सिलिन्डर ग्यासको तीन हजार रुपियाँसम्म तिरेर सर्वसाधारणले प्रयोग गर्न बाध्य भएको उद्योग वाणिज्य सङ्घ देवचुलीका संस्थापक अध्यक्ष धर्मराज बस्यालले बताउनुभयो । ग्यासको अभावले स्थानीयको जनजीवनदेखि होटेल व्यवसायमा असर परिरहेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ अर्यालले बताउनुभयो । जिल्ला प्रशासनले अनुगमन गर्दा कतै पनि कालोबजारी भएको देखिँदैन तर अनुगमन सकिएलगत्तै व्यापारीले ग्यास लुकाउन थालिहाल्ने समस्याले सर्वसाधारण ठगिएका विनयीत्रिवेणी दुम्कीबासका वीरबहादुर थापाले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरेर ग्यास ७.१ किलो ग्रामका दरले बिक्री गर्न र अभाव सिर्जना हुन नदिन, सहज ढङ्गले बिक्रीको व्यवस्था मिलाउन सबै व्यवसायीलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो ।