रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), वैशाख १९ गते । विद्युत् उत्पादनको ठुलो सम्भावना भए पनि उपयोगविहीन रहेको बडीगाडखोलामा अर्धजलाशययुक्त विद्युत् आयोजनाको तयारी सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागमार्फत बडीगाडबाट विद्युत् उत्पादनको योजना अगाडि बढेपछि स्थानीय खुसी र उत्साहित छन् । बडीगाडको पानी प्रयोग गरेर २३७.२ मेगावाट क्षमताको लोअर बडीगाड जलाशययुक्त जलविद्युत् आयोजना प्रस्ताव गरिएको छ । यो आयोजनाबाट गुल्मीका छत्रकोट, गुल्मी दरबार, रुरुक्षेत्र गाउँपालिका, रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिका प्रभावित हुने छन् ।
आयोजनाका अनुसार सत्यवती गाउँपालिका–४ र रुरुक्षेत्र गाउँपालिका–६ को सिमानामा रहेका लुम्दीखोला र बडीगाडको सङ्गमदेखि सात सय मिटरमाथि बडीगाडखोलामा १९५ मिटर अग्लो बाँध निर्माण हुने छ । ३.१ किलोमिटर लामो सुरुङमार्गबाट रुरुक्षेत्र गाउँपालिका–२ स्थित रुद्रबेनी बजारनजिकै विद्युत्गृह निर्माण योजना रहेको हाइड्रो कन्सल्ट इन्जिनियरिङ काठमाडौँका वरिष्ठ प्रशासकीय अधिकृत यादव ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँले बडीगाडखोला र कालीगण्डकी नदीको सङ्गमदेखि ७५० मिटर तलतिर कालीगण्डकी नदीको दायाँ किनारमा विद्युत्गृह निर्माण गरेर २३७.२ मेगावाट ऊर्जा उत्पादन गरिने बताउनुभयो । जलाशययुक्त आयोजना भएकाले प्रभावित क्षेत्रका थुप्रै जमिन डुब्ने, संरचना निर्माण हुने भएकाले मुअब्जाको लगत सङ्कलनको काम भइरहेको छ ।
आयोजना निर्माणका लागि अहिलेसम्म सवा एक खर्ब रुपियाँ बजेट अनुमान गरिएको वरिष्ठ प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो । यो आयोजना निर्माण गर्न पाँच वर्ष लाग्ने छ ।
यो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन तयारी भइरहेको छ । जसका लागि वातावरण संरक्षन ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ को नियम ६ बमोजिम प्रस्ताव कार्यान्वयन हुने स्थानमा सार्वजनिक सुनुवाइ आयोजना गरिएको छ । आयोजना निर्माणले प्रभावित क्षेत्रलाई रोयल्टी प्राप्त हुने र समग्र देशको ऊर्जा विकासमा सहयोग पुग्ने सत्यवती गाउँपालिका प्रमुख टीकाराम पाण्डेले बताउनुभयो ।