• १९ वैशाख २०८३, शनिबार

विद्युतीय सवारीका चुनौती

blog

विश्वको प्राकृतिक वातावरण अकल्पनीय ढङ्गले परिवर्तन भइरहेको छ । हिउँद होस् या वर्षा, ऋतु चक्रको नियमितताभन्दा निकै फरक अवस्थाको सामना मानव समाजले गरिरहेको छ । जलवायु परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धिको मारमा धनीदेखि विपन्न, समुद्री मुलुकदेखि हिमाली मुलुकसम्म गम्भीर असर परेको छ । यस्तो अवस्थाको न्यूनीकरणका लागि विविध उपाय अपनाइँदै आएको छ । विशेष गरी औद्योगिक इन्धनका रूपमा कोइला र पेट्रोलियम पदार्थको प्रयोग घटाउने तथा सवारीसाधनलाई विद्युतीय बनाउने चर्चा अहिले विश्वभर चलेको छ । 

औद्योगिक प्रतिष्ठानमा अत्यधिक कोइला प्रयोग गर्ने भारत, चीन जस्ता मुलुकले यसमा कटौती गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । उता इन्धनका रूपमा प्रयोग हुने पेट्रोलियम पदार्थमाथिको नियन्त्रणका लागि प्रतिस्पर्धा पनि उत्तिकै चलिरहेको छ । वातावरण दूषित बनाउने इन्धनबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय सवारीको उत्पादन र प्रयोग बढ्दै गएको छ । यसले इन्धनको प्रयोग मात्र घटाएको छैन, उपभोक्ताको खर्च पनि जोगाएको छ । पेट्रोल–डिजेलको तुलनामा विद्युत् चार्ज निकै सस्तो पर्छ । यसबाट वातावरण संरक्षणका साथै सञ्चालन खर्च पनि घटेको छ ।

यद्यपि यही कारणले मात्रै वातावरण पूर्ण रूपमा शुद्ध हुने सम्भावना छैन । वायुमण्डलमा विषाक्त तìव फैलाउने अन्य थुप्रै संरचना र गतिविधि व्यापक रूपमा विद्यमान छन् । त्यसकारण विद्युतीय सवारीसाधनको प्रयोगले मात्र वातावरण शुद्ध हुन्छ भन्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो । तैपनि विश्वभर जलवायु परिवर्तन, वायुप्रदूषण र पेट्रोलियम इन्धनको सीमितताका कारण विद्युतीय 

सवारीसाधनको प्रयोग तीव्र गतिमा बढिरहेको छ । नेपाल जस्ता विकासोन्मुख मुलुकमा पनि विद्युतीय सवारीलाई प्राथमिकता दिन थालिएको छ । यस्ता सवारीसाधनको मुख्य अङ्ग भनेको ब्याट्री हो । करिब १० वर्ष आयु रहने भनिएका ती ब्याट्री दशकपछिको अर्को चुनौती बन्ने त होइन भन्ने प्रश्न वातावरणविद्हरूले उठाइरहेका छन् ।

विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलमा चल्ने सवारीको प्रयोग घटाइरहेको छ, जसका कारण वायुप्रदूषणमा उल्लेखनीय कमी आउँछ । वायुमण्डलमा कार्बनडाइअक्साइड, धुवाँ र धुलोका कण कम हुँदै जाने छन् । यसले मानव स्वास्थ्यमा सुधार ल्याउनुका साथै सहरको वातावरण सफा बनाउन मद्दत गर्ने छ । तत्कालका लागि यसका सकारात्मक पक्ष आर्थिक र वातावरणीय सुधारमा देखिएका छन् र यसलाई २१ औँ शताब्दीको नयाँ व्रmान्ति पनि मानिएको छ । विश्वका ठुलठुला कम्पनी बढीभन्दा बढी सुविधायुक्त विद्युतीय सवारीसाधन बनाउने प्रतिस्पर्धामा लाग्नुका कारण पनि यही हो ।

यससँगै अर्को प्रश्न पनि उठिरहेको छ– विद्युतीय सवारीसाधन वातावरणमैत्री मानिए पनि भविष्यमा प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन ठुलो चुनौती बन्न सक्छ । अबको १० वर्षपछि ठुलो मात्रामा ब्याट्री प्रयोगबाट बाहिरिने छन् । यदि तिनको सुरक्षित व्यवस्थापन वा पुनः प्रयोगका लागि उपयुक्त प्रणाली विकास हुन सकेन भने यसले माटो, पानी र वातावरणमा अर्को गम्भीर समस्या निम्त्याउने जोखिम रहन्छ ।

हुन त अहिलेदेखि नै सवारीसाधनमा प्रयोग हुने ब्याट्री प्रविधिमा निरन्तर सुधार भइरहेको छ, जसका कारण भविष्यमा लामो आयु भएका, कम विषाक्त र बढी ऊर्जा क्षमतायुक्त ब्याट्री विकास हुने अपेक्षा गरिएको छ । तथापि ब्याट्री पूर्ण रूपमा दीर्घकालीन नहुने भएकाले यिनको व्यवस्थापनमा अहिलेदेखि नै गम्भीर हुनुपर्ने विज्ञको सुझाव छ । ब्याट्री जथाभाबी जमिन वा समुद्रमा फाल्ने हो भने यसले अहिलेको भन्दा धेरै ठुलो चुनौती सिर्जना गर्न सक्छ ।

थाहा पाउनुपर्ने अर्को कुरा के हो भने ब्याट्री निर्माणमा प्रयोग हुने लिथियम, कोबाल्ट, निकेल जस्ता खनिजको उत्खननले प्राकृतिक स्रोतमा ठुलो दबाब सिर्जना गर्छ । यसले वन विनाश, पानीको अभाव र जैविक विविधतामा नकारात्मक असर पार्न सक्छ । यसका अतिरिक्त विद्युतीय सवारी चार्ज गर्न प्रयोग हुने बिजुली यदि फोसिल इन्धनबाट उत्पादन भइरहेको छ भने त्यसबाट वातावरणीय लाभ पूर्ण रूपमा प्राप्त नहुन सक्छ । त्यसैले विद्युतीय सवारीसाधनसँगै जलविद्युत् वा सौर्य ऊर्जाको उत्पादनमा पनि जोड दिनुपर्ने आवश्यकता छ । यदि डिजेल प्रयोग गरेर बिजुली उत्पादन गर्ने र त्यही बिजुलीबाट ब्याट्री चार्ज गर्ने हो भने यसले वातावरण सुधारमा खासै योगदान पु¥याउँदैन ।

बुझ्नैपर्ने र अवलम्बन गर्नैपर्ने कुरा के हो भने विद्युतीय सवारीसाधनले वातावरणमा समग्र रूपमा सकारात्मक प्रभाव पार्ने सम्भावना धेरै नै छ तर यो प्रभाव पूर्ण रूपमा लाभदायक बनाउन सही नीति, प्रविधि, रिसाइकल व्यवस्था र स्वच्छ ऊर्जा प्रयोग अनिवार्य छ । समयमै उचित कदम चाल्न सकिएमा विद्युतीय सवारीसाधन र तिनका ब्याट्री दिगो विकास र स्वच्छ वातावरणतर्फको बलियो आधार बन्न सक्छन् । यी चुनौती समाधान गर्न ब्याट्री रिसाइकल प्रविधिमा लगानी बढाउन आवश्यक छ ।

भविष्यको मुख्य चुनौती प्रयोग भइसकेका ब्याट्री नै हुन् । यिनलाई ऊर्जा भण्डारणका रूपमा पुनः प्रयोग गर्न सकिन्छ । यसका लागि कडा नीति, नियम र उत्पादकको जिम्मेवारीलाई केन्द्रमा राखेर प्रभावकारी व्यवस्था लागु गर्नु पर्छ । साथै विद्युतीय सवारीसाधनको चार्जिङ संरचनामा स्वच्छ र नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानु पर्छ । यसो गर्न सके वातावरणीय फाइदा अझै बढ्ने छ । यसले नेपाल जस्ता जलविद्युत् उत्पादनमा अपार सम्भावना भएका मुलुकका लागि अर्थोपार्जनको नयाँ विकल्प पनि सिर्जना गर्न सक्छ । सवारीसाधन पूर्ण रूपमा विद्युतीय प्रविधिमा रूपान्तरण भए इन्धन आयातमा ठुलो कमी आउने छ र बचत भएको रकम जलविद्युत् उत्पादनमा लगानी गर्न सकिने छ । अन्तर्राष्ट्रिय व्यापारमा जलविद्युत् महìवपूर्ण हिस्साका रूपमा स्थापित हुन सक्छ ।

जलवायु परिवर्तन आज विश्वको सबैभन्दा गम्भीर समस्या बनेको छ । मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यास, वन विनाश, औद्योगिक प्रदूषण र असन्तुलित विकासका कारण पृथ्वीको तापव्रmम निरन्तर बढिरहेको छ । यसले केवल मौसम प्रणालीलाई मात्र होइन, वातावरणमा विषाक्त पदार्थको मात्रा र प्रभावलाई पनि गहिरो रूपमा प्रभावित गरिरहेको छ । अहिले देखिएका जलवायु परिवर्तनका असरसँगै विषयवस्तुको समस्या झन् जटिल बन्दै गएको छ ।

हाल विश्वभर तापव्रmम वृद्धि, अनियमित वर्षा, लामो खडेरी, बाढी, पहिरो, हिमनदी पग्लिनु र समुद्री सतह बढ्नु जस्ता प्रभाव स्पष्ट रूपमा देखिन थालेका छन् । नेपाल जस्तो हिमाली देशमा हिमनदी तीव्र गतिमा पग्लिनु, बेमौसमी वर्षा र कृषि प्रणालीमा नकारात्मक असर देखिएको छ । यी परिवर्तनले खाद्य सुरक्षामा खतरा, पानीको अभाव र प्राकृतिक प्रकोपको जोखिम बढाएका छन् । सँगसँगै विभिन्न प्रकारका विषाक्त पदार्थ वातावरणमा फैलिँदै गएका छन् । औद्योगिक गतिविधि, सवारीसाधन, प्लास्टिक फोहोर, रासायनिक मल र कीटनाशकबाट निस्कने विषाक्त तìव यसका प्रमुख कारण हुन् ।

हुन त हरितगृह ग्यासहरू– कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड स्वयम् प्रत्यक्ष रूपमा विषाक्त नभए पनि यिनले तापक्रम बढाएर अन्य विषाक्त पदार्थको प्रभावलाई तीव्र बनाउँछन् । उदाहरणका लागि तापक्रम बढ्दा जमिनको सतहमा ओजोन ग्यासको मात्रा बढ्न सक्छ, जसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ । त्यसै गरी पारा, सिसा र क्याडमियम जस्ता धातु जलवायु परिवर्तनका कारण पानी र माटोमा सजिलै फैलिन सक्छन् । बाढी र पहिरोले यस्ता विषाक्त पदार्थ कृषि भूमिमा पु-याउँदा खाद्य शृङ्खला प्रदूषित हुन्छ । प्लास्टिक फोहोरबाट उत्पन्न माइव्रmोप्लास्टिक पानी, माटो र हावासम्म पुगिसकेको छ, जसले मानव स्वास्थ्य र वन्यजन्तु दुवैलाई असर पु¥याइरहेको छ ।

वातावरणमा बढेको विषाक्त तìवले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्न थालेका छन् । दम, एलर्जी, क्यान्सर, छालासम्बन्धी समस्या र स्नायु प्रणालीका रोग बढ्दै जानु यसको उदाहरण हुन् । जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा रोग फैलाउने जीवाणु र किरा सव्रिmय हुने भएकाले डेङ्गु, मलेरिया जस्ता रोगको जोखिम पनि बढेको छ । जैविक विविधतामा पनि गम्भीर असर परेको छ । विषाक्त पदार्थ र तापव्रmम वृद्धिका कारण धेरै वनस्पति र जनावर प्रजाति लोप हुने अवस्थामा पुगेका छन् । पानीका स्रोत प्रदूषित हुँदा माछा र अन्य जलचरको जीवनचव्रm प्रभावित भइरहेको छ । 

अझ डरलाग्दो तथ्य के बाहिरिएको छ भने स्वच्छ पानीका तालमा अक्सिजनको मात्रा घट्दै गएको छ । हिमाल उजाड बन्दै गएका छन् । यसले सभ्यता र संस्कृतिमाथि नै गम्भीर चुनौती थपेको छ । विगतमा निर्मूल भइसकेका रोग पुनः फैलिन थालेका छन् । जलवायु परिवर्तन केवल तापव्रmम वृद्धिको मात्र समस्या नभई वातावरणमा विषाक्त तìवको विस्तारसँग पनि जोडिएको छ, जसले मानवदेखि वनस्पतिसम्म गम्भीर असर पु-याइरहेको छ । त्यसैले जलवायु परिवर्तन आजको प्रमुख प्राथमिकताप्राप्त विषय बनेको छ । अहिलेको मुख्य चिन्ता मानव सभ्यताको सुरक्षित भविष्य हो र यसका लागि वातावरण शुद्ध हुनु अत्यावश्यक छ । यसका लागि विश्वव्यापी रूपमा दीर्घकालीन र समन्वित प्रयास आवश्यक छ ।

हरितगृह ग्यास उत्सर्जन घटाउन नवीकरणीय ऊर्जाको प्रयोग बढाउनु पर्छ । औद्योगिक फोहोर, प्लास्टिक र रासायनिक पदार्थको सही व्यवस्थापन अनिवार्य बनाउनु पर्छ । वातावरणमैत्री कृषि प्रणाली, वन संरक्षण र जनचेतना अभिवृद्धि महìवपूर्ण उपाय हुन् । प्राकृतिक स्रोतसाधनको व्यवस्थित र अनुशासित उपयोग तथा संरक्षण र वातावरणमा विषाक्त पदार्थको प्रवेश न्यून गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

जलवायु परिवर्तनको असरलाई न्यून गर्न विद्युतीय  सवारीसाधन केही हदसम्म भरपर्दो आधार बन्ने देखिए पनि यिनमा प्रयोग भएका ब्याट्रीको दीर्घकालीन उपयोग वा व्यवस्थापनका लागि उपयुक्त प्रविधि र योजनाको विकासमा अहिले नै ध्यान दिनु पर्छ । नत्र केही दशकपछि यो अर्को जलवायुजन्य समस्याका रूपमा देखा पर्न सक्छ । यसतर्फ सम्बन्धित सबै पक्षले गम्भीरतापूर्वक चासो दिन आवश्यक छ । नेपालले विद्युतीय सवारीसाधनको प्रयोगलाई जसरी प्रवर्धन गरिरहेको छ, त्यसबाट तत्कालका लाभसँगै भविष्यका सम्भावित समस्यालाई समेत ध्यानमा राखी दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ ।