शेरबहादुर सार्की
बाजुरा, वैशाख १९ गते । बाजुराका किसान यतिबेला असिनापानीको त्रासमा छन् । गत कात्तिकमा लगाइएको गहुँबाली अहिले पाक्न थालेको बेला लगातार असिनापानी पर्न थालेपछि पाकेको बाली नष्ट हुने चिन्ताले किसानहरू त्रसित बनेका हुन् । त्रिवेणी नगरपालिकाका स्थानीय मानबहादुर नेपालीले पाकेको गहुँबालीमा असिनापानीको जोखिम बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको गहुँ अहिले पाकेको छ । यही समयमा दिनदिनै असिनापानी पर्न थालेको छ । पाकेको बाली घरमा भित्र्याउन नपाउँदै नष्ट हुने हो कि भन्ने चिन्ता लागेको छ ।”
उहाँका अनुसार असारको खेतीमा बाढीपहिरोको चिन्ता हुन्छ भने हिउँदे खेतीमा असिनापानीको जोखिम रहने भएकाले किसान सधैँ चिन्तामै रहने गरेका छन् ।
बाजुराका अधिकांश क्षेत्रमा यतिबेला गहुँ पाकेर पहेँलपुर भएको छ । खोला किनारका सिँचाइ सुविधा भएका स्थानमा चैत–वैशाखमै गहुँ पाक्ने गरेको छ भने पाखो क्षेत्रमा लगाइएको गहुँ वैशाख–जेठमा पाक्ने गर्दछ ।
बुढीगङ्गा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ तथा खप्तड छेडेदहलगायत क्षेत्रमा गहुँ खेती राम्रो हुने गरेको छ । सबैभन्दा बढी बुढीगङ्गाका साविकका बह्रबिस, कुल्देवमाण्डौ तथा त्रिवेणीको कैलाशमाण्डौ क्षेत्रमा गहुँ उत्पादन राम्रो हुने गरेको स्थानीय बताउँछन् ।
यहाँका किसानले पासाङल्हामु, डब्लुके–१४४, डाँफेमुनाल तथा स्वर्गद्वारी जातका गहुँ लगाउने गरेका छन् । अधिकांश किसानले भने अझै स्थानीय पुराना जातकै बिउ प्रयोग गर्दै आएका छन् ।
बाजुरामा कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य रहेको छ । त्यसमध्ये पाँच हजार दुई सय ३५ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्ने र वर्षा भए उत्पादन बढ्ने गरेको कृषि प्राविधिकहरू बताउँछन् । उन्नत जातको बिउ प्रयोगले पनि उत्पादन वृद्धि भएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बाजुरामा १० हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । यहाँबाट वार्षिक करिब १७ हजार ७८२ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ ।