परम्परागत रूपमा विकासको मापन भौतिक पूर्वाधार, औद्योगिकीकरण र कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धिका आधारमा गरिँदै आएको छ तर पछिल्लो समय विश्वका धेरै मुलुकले केवल आर्थिक वृद्धिले मात्र मानिसलाई सुखी बनाउन नसक्ने निष्कर्ष निकाल्दै मानसिक सन्तुष्टि, सामाजिक न्याय र पर्यावरणीय सन्तुलनलाई प्राथमिकता दिन थालेका छन् । यही सन्दर्भमा बौद्ध दर्शनमा आधारित ‘बौद्ध अर्थशास्त्र’ र ‘कुल राष्ट्रिय खुसी’ (जिएनएच) जस्ता अवधारणा पुनः विश्वव्यापी बहसको केन्द्रमा आएका छन् ।
आजको विश्व अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेको छ । ठुला अर्थतन्त्रहरूले उत्पादन र उपभोग विस्तारलाई विकासको प्रमुख सूचकका रूपमा अघि सारेका छन् तर जलवायु सङ्कट, मानसिक तनाव, सामाजिक असमानता र सांस्कृतिक विघटन जस्ता चुनौतीले गम्भीर प्रश्न उठाएको छ– के आर्थिक वृद्धि नै मानव जीवनको अन्तिम लक्ष्य हो ?
विश्व अर्थतन्त्र अहिले तीव्र गतिमा अघि बढिरहेको छ । ठुला अर्थतन्त्रहरू कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि, औद्योगिकीकरण र उपभोग विस्तारलाई विकासको मुख्य सूचकका रूपमा प्रस्तुत गरिरहेका छन् । जलवायु सङ्कट, मानसिक तनाव, सामाजिक असमानता र सांस्कृतिक विघटन जस्ता चुनौतीको सामना गर्ने सामथ्र्यको विकास नगरीकन सुखी हुन सकिँदैन भन्ने त्यहाँका अर्थशास्त्रीको रायलाई सरकारले नै आत्मसात् गरेका छन् । बौद्ध दर्शनमा आधारित बौद्ध अर्थशास्त्र र कुल राष्ट्रिय खुसी जस्ता अवधारणा विश्वका लागि वैकल्पिक सोचका रूपमा पुनः चर्चामा आएका छन् ।
समतामूलक आर्थिक विकास, पर्यावरण संरक्षण, संस्कृति संरक्षण र सुशासनलाई चार आधारस्तम्भ मानिएको छ । सूचक मापनका लागि मानसिक सन्तुष्टि, स्वास्थ्य, शिक्षा, समयको उपयोग, सांस्कृतिक विविधता, सुशासन, सामुदायिक जीवन, वातावरण र जीवनस्तर जस्ता नौ वटा क्षेत्र तोकिएको छ । यसले मानव जीवनको समग्र गुणस्तर मापन गर्ने अर्थशास्त्रीहरू बताउँछन् ।
नोक्सानी न्यूनीकरण, इच्छा नियन्त्रण, अहिंसा र सामाजिक हित, स्थानीय अर्थतन्त्रको प्रवर्धन र उदारता तथा सहकार्यलाई बौद्ध अर्थशास्त्रका आधारभूत सिद्धान्त मानिन्छ । यस्तो अर्थतन्त्रको उद्देश्य अधिकतम उपभोग होइन, अधिकतम सन्तुष्टि हो । उत्पादन वा विकास गर्दा नाफा मात्र होइन; मानिस, समाज र वातावरणमा पर्ने असर पनि विचार गर्नु पर्छ । असीमित उपभोग होइन; सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिनु पर्छ । उत्पादन र उपभोग दुवै प्रव्रिmया कसैलाई हानि नपुग्ने गरी हुनु पर्छ । स्थानीय उत्पादन, स्थानीय उपभोग र समुदायकेन्द्रित अर्थतन्त्रमा जोड दिनु पर्छ । व्यक्तिगत लाभभन्दा सामाजिक कल्याणलाई प्राथमिकता दिनु पर्छ ।
विकासको नयाँ मापदण्ड
कुल राष्ट्रिय खुसी नै विकासको नयाँ मापदण्ड भएको छ । यो अवधारणाको सुरुवात भुटानका चौथो राजा जिग्मे सिङ्गे वाङ्चुकले सन् १९७० को दशकमा अघि सारेका थिए । उनले भनेका छन्, “कुल राष्ट्रिय खुसी कुल राष्ट्रिय उत्पादनभन्दा बढी महŒवपूर्ण छ ।” भुटानले अघि सारेको कुल राष्ट्रिय खुसी (जिएनएच) अवधारणा विश्वका लागि प्रेरणादायी बनेको छ ।
देशको विकास त्यहाँका नागरिक कति खुसी छन् भन्नेबाट मापन हुनु पर्छ भन्नु नै यसको अवधारणा हो । यो मापदण्डले केवल आय होइन; मानसिक सन्तुष्टि, स्वास्थ्य, शिक्षा, वातावरण, संस्कृति, सुशासन जस्ता पक्षलाई समेट्छ ।
बौद्ध अर्थशास्त्रले उपभोग होइन, सन्तुलनको अर्थतन्त्रमा जोड दिन्छ । परम्परागत अर्थशास्त्रको अधिक उत्पादन, अधिक उपभोगको सूत्रलाई बौद्ध अर्थशास्त्रले चुनौती दिन्छ र भन्छ– कम साधनबाट पनि सन्तुलित, शान्त र सन्तुष्ट जीवन सम्भव छ । बौद्ध अवधारणा अनुसार उत्पादन गर्दा वातावरण र समाजमा पर्ने असर विचार गरिन्छ । चरम दोहनबाट उत्पन्न भइरहेका असरबारे अध्ययन गरिन्छ । उपभोगलाई सीमित र सचेत बनाइन्छ; स्थानीय स्रोत एवं श्रमको प्रयोगलाई प्राथमिकता दिइन्छ र नाफाभन्दा मानव कल्याणलाई महŒव दिइन्छ ।
आजको विश्वमा अति उपभोग नै जलवायु परिवर्तनको मुख्य कारण बनिरहेको विद्वान्हरूको ठहर छ । बौद्ध दर्शनका बारेमा शोध गरिरहेका नेपालसहितका विभिन्न मुलुकका अर्थशास्त्रीले दिगो जीवनशैलीको स्पष्ट मार्ग नै बौद्ध अर्थशास्त्र र कुल राष्ट्रिय खुसीको अवधारणा रहेकोमा जोड दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयसहित विभिन्न ठाउँमा यसबारे पठनपाठन सुरु भएको छ ।
हालको विश्व सन्दर्भले बौद्ध अर्थशास्त्रलाई अझ सान्दर्भिक बनाएको छ । बढ्दो व्रmममा रहेको जलवायु सङ्कट नै नयाँ अवधारणाको विकासको कारक बनिरहेको छ । अत्यधिक औद्योगिकीकरण र उपभोगले वातावरणीय विनाश बढाएको छ र कैयौँ मुलुकले ‘प्रकृतिमा फर्क’ (ब्याक टु नेचर) अभियान सुरु गरेका छन् । विकाससँगै पर्यावरण संरक्षण अनिवार्य भएको छ ।
बौद्ध अर्थशास्त्र र कुल राष्ट्रिय खुसीले विकासको परम्परागत सोचलाई चुनौती दिँदै मानवकेन्द्रित विकास मोडेल प्रस्तुत गरेका छन् । नेपाल जस्तो सांस्कृतिक रूपमा समृद्ध तर आर्थिक रूपमा चुनौतीपूर्ण देशका लागि यो अवधारणा केवल सैद्धान्तिक होइन, व्यावहारिक समाधान बन्न सक्छ । अब प्रश्न जिडिपी कति बढ्यो भन्ने होइन; जनताको जीवन कति सुखी, सन्तुलित र सम्मानजनक भयो भन्ने हो ।
उच्च आय भएका देशमा पनि तनाव, ‘डिप्रेसन’ र एक्लोपन बढ्दो छ । पैसाले खुसी किन्न नसकिने, असमानताले तनाव उत्पन्न गराउने, धनी र गरिबबिचको खाडल बढिरहँदा मानसिक स्वास्थ्य सङ्कट निम्त्याएको छ । कल्याणकेन्द्रित अर्थतन्त्रतर्फ उन्मुख हुन जरुरी रहेको बौद्ध दर्शनका अध्येताको जोड छ ।
कुल राष्ट्रिय खुसीको प्रभाव
संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन प्रकाशित गर्न थालेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १२ जुलाई २०१२ मा पारित गरेपश्चात् सन् २०१३ मार्च २० देखि १९३ सदस्य देशले अन्तर्राष्ट्रिय खुसी दिवस मनाउन थाले । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार नेपाल ९३ औँ स्थानमा छ भने फिनल्यान्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा छ । धेरै देशले नीति निर्माणमा खुसी र कल्याणलाई समावेश गर्न थालेका छन् । सकल राष्ट्रिय कल्याण जस्ता अवधारणा विश्वव्यापी बहसमा छन् । विकासको परिभाषा विश्वभर परिवर्तन हुँदै छ ।
बौद्ध अर्थशास्त्रले सन्तुलित जीवन सिकाउँछ भने कुल राष्ट्रिय खुसी (जिएनएच) ले त्यसको मापन गर्ने आधार दिन्छ । नीति निर्माणमा खुसी र कल्याणलाई समावेश गर्न जरुरी छ । यसले स्थानीय अर्थतन्त्र बलियो बनाउन सघाउँछ । गाउँमै रोजगारी सिर्जना, कृषि र साना उद्योग प्रवर्धन गर्न सकिन्छ । मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न जरुरी छ । शिक्षा र स्वास्थ्य नीतिमा कल्याणलाई समावेश गर्दै पर्यावरणमैत्री विकास र पूर्वाधार निर्माणसँगै प्रकृति संरक्षणमा जोड दिन सकिन्छ । नेपालका लागि यो अवधारणा केवल वैकल्पिक होइन; दिगो, समावेशी र मानवीय विकासको वास्तविक मार्ग हो ।
नेपालमा सम्भावना र चुनौती
नेपाल बौद्ध दर्शनको जन्मभूमि हो । त्यसैले बौद्ध अर्थशास्त्र र जिएनएचको सन्दर्भमा नेपालको विशेष महŒव छ । सांस्कृतिक र आध्यात्मिक आधार, समुदाय, सहकार्य र सन्तुलित जीवनशैली नेपाली समाजको आधार हो । यस्तै प्राकृतिक सम्पदा जस्तै– हिमाल, जङ्गल र जैविक विविधता दिगो विकासका उत्कृष्ट आधार हुन् ।
समृद्धिको भरपर्दो आधार पर्यटन हो । आध्यात्मिक पर्यटन र शान्ति पर्यटनमा नेपाल विश्वकै केन्द्र बन्न सक्छ । यद्यपि चुनौती पनि उत्तिकै छन् । राजनीतिक अस्थिरता, निराशा, बेरोजगारी र युवाशक्ति बिदेसिने व्रmम बढ्दो छ । सहर–गाउँ र वर्गीय विभाजन अझै कायमै छ । आर्थिक दबाब र सामाजिक परिवर्तनले मानसिक तनाव बढाएको छ । यसका साथै नीति कार्यान्वयनमा कमजोरी छ । सुशासन र प्रभावकारी कार्यान्वयनमा समस्या उस्तै छ ।
मानसिक सन्तुष्टि जरुरी
लुम्बिनी बौद्ध विश्वविद्यालयका अर्थशास्त्री सुरज घिमिरेका अनुसार बौद्ध अर्थशास्त्र र कुल राष्ट्रिय खुसीको अवधारणाले आजको विश्व अर्थतन्त्रमा गहिरो सान्दर्भिकता पाएको छ किनकि केवल कुल राष्ट्रिय आयमा आधारित विकासले आय असमानता, मानसिक तनाव र वातावरणीय सङ्कट बढाएको यथार्थ विभिन्न अध्ययनले देखाएका छन् ।
भुटानले सन् १९७२ देखि कुल राष्ट्रिय खुसीलाई नीतिगत आधार बनाउँदै समतामूलक विकास, सुशासन, संस्कृति र वातावरण संरक्षणलाई सन्तुलित रूपमा अघि बढाएको उदाहरण छ । यस्तै थाइल्यान्डले ‘सफिसियन्सी इकोनोमी’ मार्फत स्थानीय स्रोतमा आधारित आत्मनिर्भरता प्रवर्धन गरेको अनुभवले देखाउँछ । दिगो समृद्धि केवल उत्पादन वृद्धि होइन; सन्तुलित उपभोग, सामाजिक न्याय र मानसिक सन्तुष्टिमा निर्भर हुन्छ भन्ने कुरा व्यावहारिक बनेको छ ।
संयुक्त राष्ट्रसङ्घले समेत खुसीलाई विकासको सूचकका रूपमा स्विकार्दै अन्तर्राष्ट्रिय खुसी दिवस मनाउन थालेको सन्दर्भमा नेपाल जस्तो बुद्ध जन्मभूमिले आफ्नै दार्शनिक आधारलाई आत्मसात् गर्न सकिरहेको छैन । बौद्ध दर्शनको मध्यम मार्ग, तृष्णाको नियन्त्रण, सामूहिक हित र पर्यावरणीय सन्तुलनका माध्यमबाट आर्थिक नीतिमा रूपान्तरण गर्न सकिन्छ । यसो भएमा कृषि, रोजगारी, निर्यात र सामाजिक स्थायित्वमा ठोस सुधार ल्याउन सकिन्छ ।