• १९ वैशाख २०८३, शनिबार

तनहुँमा अतिक्रमित संरचना हटाइने

blog

जिल्ला प्रशासन कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
दमौली, वैशाख १९ गते ।
तनहुँमा सरकारी जग्गा कब्जा गरेर बनाइएका अवैध संरचनाहरू हटाइने भएको छ । गृह मन्त्रालयबाट बिहीबार मात्रै यससम्बन्धी परिपत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आवश्यक तयारी अगाडि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाभर रहेका अतिक्रमित संरचना हटाउने विषयमा सरोकारवालाहरूसँग बैठक बसेर ठोस निर्णय लिइने बताउनुभयो । उहाँका अनुसार आगामी हप्ता स्थानीय तह, सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग चाँडैै नै समन्वय बैठक आह्वान गरिने तयारी गरिएको छ ।

प्रजिअ तिवारीले पहिलो चरणमा जिल्ला भित्रका अतिक्रमित संरचनाहरूको विस्तृत विवरण सङ्कलन गरिने जानकारी दिनुभयो । यस प्रक्रियामा सडक, सार्वजनिक जग्गा, नदीकिनार, सरकारी तथा सामुदायिक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरूको पहिचान गरिने प्रशासनले जनाएको छ ।